प्रहरीले तर्साउने र तर्सिने छैन : एसपी कार्की

नेपालगन्ज : जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी तुलबहादुर कार्कीले प्रहरीले कसैलाई न तर्साउने र कसैसँग नतर्सिने बताएका छन् ।
जिल्ला प्रहरीको नेतृत्व सम्हाले यता आइतबार बाँकेका पत्रकारहरुसँगको पहिलो भेटमा एसपी कार्कीले राज्यले दिएको जिम्मेवारी इमान्दारितासाथ बहन गर्ने प्रतिबद्धता पनि जनाए । ‘कानुनको अधिनमा रहेर राज्यले तोकेको जिम्मेवारी वहन गर्न कुनै पनि खालको कसर बाँकी राख्ने छैन’, पत्रकारका जिज्ञासाको जवाफ दिँदै उनले भने, ‘मेरो टिमले कसैलाई तर्साउने र तर्सिने पनि छैन ।’
यसअघिका एसपीहरुले जिल्ला प्रहरीको नेतृत्व सम्हाल्दा जिल्लाको शान्ति सुरक्षाका प्राथमिकताका विषयमा चर्का भाषण र बुँदागत रुपमा लिखित रुपमै सार्वजनिक गर्ने तर कार्यान्वयन नगर्ने परम्परा विपरित एसपी कार्कीले निकै सरल र शालिन शैलीमा पत्रकार मार्फत मौखिक रुपमा प्रतिबद्धता जनाएका थिए । सो अवसरमा उनले पत्रकारसँग सुझाव पनि संकलन गरेका थिए ।