बर्दियाको बढैयातालबाट २६ किलो चरेससहित २ पक्राउ

मानबहादुर ठकुल्ला । बर्दिया
बर्दियाको बढैयाताल गाउँपालिकाको दुई स्थानबाट २६ किलो चरेससहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
बर्दियाको जमुनी नाका रहेको प्रहरी चौकी जमुुुनीबाट खटिएको प्रहरी टोलीले बढैयाताल गाउँपालिका वडा न २ फुटाहास्थित झुपबहादुर बिकको घरमा डेरा गरी बस्दै आएका पश्चिम रुकुमको सानोभेरी गाउँपालिका ६ कोटगाँउ घर भएको वर्ष ३० को तिलक पुनलाई ४ किलो लागूऔषध (चरेस)सहित पक्राउ गरेको प्रहरी चौकी जमुनीका इन्चार्ज प्रहरी नायव निरीक्षक टंकबहादुर ठकुल्लाले जानकारी दिए ।

इन्चार्ज ठकुल्लाका अनुसार विशेष सुराकीका आधारमा कोठामा लुकाइछिपाइ खैरो टेपले बेरिएको अवस्थामा ६ पोका, सेतो टेपले बेरिएको अवस्थामा २ पोका गरि ८ पोकामा चरेश बरामद गरिएको हो । जसको तौल ४ किलो एक सय ग्राम रहेको ठकुल्लाले बताए । त्यसै गरी मंगलबार नै प्रहरी चौकी जमुनी र शसस्त्र प्रहरी बल बिओपी फुटाहाको संयुक्त गस्ती टोलीले २२ किलो चरेससहित जिल्ला रुकुम पश्चिम का वर्ष ३४ का बमबहादुर पुनलाइ समेत पक्राउ गरेको छ । निजलाई बर्दिया बढैयाताल गापा २ फुटाहास्थित ५१ नम्बर पिल्लरस्थित नेपाल भारत सिमाना नजिकबाट पक्राउ गरिएको हो । पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाही का लागि इलाका प्रहरी कार्यालय मैनापोखर पठाएको समेत ठकुल्लाले बताए । एक साता अगाडि सोही नाकाबाट ६ किलो चरेससहित एक जना पक्राउ परेका थिए । पछिल्लो समय चरेस ओसारपसारका लागि जमुनी नाकालाई तस्करले प्रयोग गर्दै आएको यी घट्नाले पुष्टि गरेको छ भने त्यसलाई प्रहरीले बिफल पार्दै आएको छ ।