१ किलो ७०६ ग्राम अफिमसहित चिसापानीबाट २ पक्राउ

मानबहादुर ठकुल्ला । टीकापुर
कैलाली प्रहरीले नेपालमा लगाउन प्रतिबन्धित लागूऔषध अफिमसहित दुई जनालाई पक्राउ गरेको छ ।
जुम्लाको गुठीचौर गाउँपालिका ४ बस्ने वर्ष ३८ को मेघराज खत्री र जाजरकोटको बारेकोट गाउँपालिका ३ बस्ने वर्ष ३२ को भक्तबहादुर शाहीलाई १ किलो ७०६ ग्राम अफिमसहित कर्णाली चिसापानीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
लम्की चुहा नगरपालिका ३ चिसापानीमा रहेको प्याराडाइज होटलको कोठामा शंकास्पद रुपमा दुई जना व्यक्तिहरु बसिरहेको भन्ने सूचनाको आधारमा लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय चिसापानी कैलालीबाट खटी गएको संयुक्त प्रहरी टोलीले उक्त होटलमा चेकजाँच तथा खानतलासी गर्दा उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।
पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय लम्कीको हिरासतमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । यो अफिम कहाँबाट ल्याएर कहाँ बेच्न लैजाँदै थिए भन्ने कुरा अहिलेसम्म खुलेको छैन ।