खजुरामा हुलाकी राजमार्ग फराकिलो बनाउन हस्ताक्षर अभियान
खजुरा : हुलाकी राजमार्गमा स्तरोन्नतीको चरणमा रहेको नेपालगन्ज गुलरिया सडक खण्डको खजुरा बजार क्षेत्रको सडक फराकिलो बनाउन माग गर्दै स्थानीयले हस्ताक्षर संकलन अभियान सुरु गरेका छन् ।
ठेक्का सम्झौता भएर हाल निर्माणाधीन अवस्थामा रहेको खजुरा बजार खण्डको १८०० मिटर सडक फराकिलो बनाउन माग गर्दै स्थानीयबासीले पहल सुरु गरेका हुन् ।
खजुरा बजार क्षेत्रको दाँया र बाँया दुबैतर्फ ४ लेन सडक सहित फराकिलो सडक निर्माण सम्पन्न हुँदा बजार क्षेत्रमा साँघुरो र अब्यवस्थित सडक बन्दै गरेको भन्दै फराकिलो सडक निर्माणका लागि पहल स्वरुप स्थानीयले हस्ताक्षर संकलन गरेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका स्थानीय नेताहरुको अगुवाईमा हस्ताक्षर अभियान थालिएको नेता विजय गुरुङले जानकारी दिनुभयो ।
हाललाई सडक किनारमा रहेको फुटपाथलाई ढलदेखि पछाडि सारेर दुबै तर्फ १(१ मिटर सडक पराकिलो बनाएर कालोपत्रे गर्न हुलाकी राजमार्ग निर्देशनालयलाई आग्रह गर्ने गरि हस्ताक्षर संकलन भइरहेको उहाँ बताउनुहुन्छ । सडक डिभिजन अन्तर्गत यसअघि निर्माणका क्रममा सडकको मापदण्ड घटाएर तत्कालिन दलहरुको सरकारले खजुराबासीलाई अन्याय गरेको बताउँदै उहाँले रास्वपाले तत्काल सडकको मापदण्ड परिवर्तन गर्न नभ्याएपनि सडक फराकिलो बनाउन केन्द्रदेखि नै पहल गर्ने बताउनु भयो । स्थानीयबासीले स्वस्फुर्त हस्ताक्षर गरिदिएको उल्लेख गर्दै गुरुङले जनताको हस्ताक्षर लिएर हुलाकी राजमार्ग निर्देशनालयमा डेलिगेशन जाने जानकारी दिनुभयो ।
हुलाकी राजमार्ग निर्माण भएसँगै नेपालगन्जबाट धनगढी, टीकापुर र महेन्द्रनगर यात्रा गर्ने यात्रुहरुले हुलाकी राजमार्ग प्रयोग गर्न थालेका छन् । साबिक पूर्वपश्चिम राजमार्ग प्रयोग गर्दा निकुञ्जको टाइम कार्ड, जनावरको असुरक्षा र लामो दूरी पर्ने भएको भन्दै यात्रुहरुको रोजाइ हुलाकी राजमार्ग हुने गरेको छ ।









