कोहलपुर गोल्डकप : वर्षाका कारण दोस्रो दिनको खेल स्थगित
कोहलपुर : बाँकेको कोहलपुरमा जारी चौथो संस्करणको कोहलपुर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेल वर्षाका कारण स्थगित भएको छ । आइतबार अपरान्ह जस्ट जोन एफसी (नाइजेरिया) र रोयल फुटबल क्लब (कर्णाली) बीचको खेल सञ्चालन भएको ३७ मिनेटमा वर्षाका कारण स्थगित गरेको आयोजकले जनाएको छ । पहिलो हाफमा १ गोल गर्दै नाइजेरियाको टिमले खेलमा अग्रता लिएको थियो ।
उक्त खेल सोमबार बिहान ८ बजे पुनः सञ्चालन हुने प्रतियोगिता संयोजक कर्णबहादुर बस्नेतले जानकारी दिनुभयो । शनिबारदेखि सुरु भएको प्रतियोगिता २६ वैशाखसम्म सञ्चालन हुनेछ । विजेताले ८ लाख रुपैयाँ र उपविजेताले ४ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।








