लायन्स डिष्ट्रिक्ट ३२५, एनका इलेक्ट गभर्नर चपाईद्वारा क्याबिनेट सदस्य मनोनित

नेपालगन्ज : लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५, एन नेपालका इलेक्ट गभर्नर टीकाराम चपाईले क्याबिनेट सदस्य मनोनित गर्नुभएको छ । डिष्ट्रिक्टका पाँच वटै एरियामा आइतबार एक साथ जिल्ला मन्त्रिपरिषद् घोषणा कार्यक्रम आयोजना गरेर मनोनित सदस्यहरुलाई मनोनयन पत्र हस्तान्तरण गरिएको हो ।

गभर्नर चपाई सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेपालको लागि नयाँ ऊर्जा, नयाँ प्रतिबद्धता र नयाँ यात्राको शुभारम्भको एक ऐतिहासिक र गौरवपूर्ण क्षण भएको बताउनु भएको छ ।

‘डिष्ट्रिक्टका सम्पूर्ण क्याबिनेट सदस्यहरूलाई हार्दिक बधाई तथा सफल, प्रभावकारी र स्मरणीय कार्यकालको शुभकामना व्यक्त गर्दछु’, उहाँले भन्नुभएको छ, ‘यहाँहरूले वहन गर्नुभएको जिम्मेवारीले केवल पदको गरिमा बढाएको मात्र होइन, सेवा, नेतृत्व र समर्पणप्रतिको उच्च प्रतिबद्धताको समेत स्पष्ट सन्देश दिएको छ। सेवाका संवाहक, नेतृत्वका प्रेरणादायी उदाहरण तथा परिवर्तनका सच्चा प्रतिनिधिको रूपमा यहाँहरूको भूमिका डिष्ट्रिक्टको समग्र उन्नति र प्रभावकारी सेवा विस्तारमा अत्यन्त महत्वपूर्ण रहने विश्वास लिएको छु।’

एरिया नं. ४ को नेपालगन्जमा जिल्ला मन्त्रिपरिषद् घोषणा कार्यक्रम आयोजना गरिएको थियो । डिष्ट्रिक्ट गभर्नर ज्ञानेन्द्रकुमार श्रेष्ठले मनोनित क्याबिनेट सदस्यहरुलाई पत्र प्रदान गर्नु भएको थियो । सो अवसरमा पूर्व गभर्नर मधुसूधन शर्मा र मुकुट ढकालले सदस्यहरुलाई बधाइ तथा शुभकामना दिनु भएको थियो । एरिया नंं. ४ का एरिया चिफ पुष्कर खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बाँके र बर्दियाका लायन्स सदस्यहरुको सहभागिता रहेको थियो । डिष्ट्रिक्ट ३२५, एनले आगामी जेठको २२ र २३ गते नेपालगन्जको सिद्धार्थ भ्यूमा दुई दिने क्याबिनेट अफिर्स स्कुलिंग कार्यक्रम आयोजना गर्ने भएको छ ।