बाल न्यायको प्रभावकारी कार्यान्वयनमा जोड
नौबस्ता : बाँकेको नौबस्ता बाल सुधार गृहमा कानूनी साक्षरता र मनोसामाजिक परामर्श कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
बालसुधार गृह नौबस्ताले आयोजना गरेको कार्यक्रममा कानूनको विवादमा परेका बालबालिकालाई दण्डमुखी दृष्टिकोणबाट होइन, सुधार, पुनर्स्थापना र सर्वोत्तम हितको सिद्धान्तअनुसार व्यवहार गर्नुपर्ने आवश्यकतामा जोड दिइएको थियो ।
कार्यक्रममा कानूनको विवादमा परेका बालकहरूलाई बालन्याय प्रणाली, न्यायिक प्रक्रिया, कानूनी सहायता तथा बालबालिकाले कानूनबमोजिम प्राप्त गर्न सक्ने अधिकारका विषयमा जानकारी प्रदान गरिएको थियो।
कार्यक्रममा मुख्य प्रशिक्षकका रूपमा एडभोकेसी फोरम नेपाल लुम्बिनी प्रदेशका संयोजक अधिवक्ता बसन्त गौतम तथा उच्च अदालत तुल्सीपुर, नेपालगन्ज इजलासका र्वैतनिक कानून व्यवसायी सरिता पौडेलले सहजीकरण गर्नुभएको थियो।
कार्यक्रम उद्घाटन गर्दै बाल सुधार गृह नौबस्ताका प्रमुख श्यामबहादुर रानाले कानूनको विवादमा परेका बालकहरूलाई आफ्नो मुद्दाको अवस्था, न्यायीक प्रक्रिया तथा उपलब्ध कानूनी सहायताबारे जानकारी गराई उनीहरूको अधिकार सुनिश्चित गर्ने उद्देश्यले कानूनी साक्षरता कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो।
सो अवसरमा बालकहरुले बालन्याय दण्डमुखी होइन, सुधारमुखी प्रणाली कानूनी साक्षरता कार्यक्रममा सहभागी कानूनको विवादमा परेका बालकहरूले कानूनको अज्ञानताका कारण विवादमा परेको अवस्थामा समेत आफूहरूलाई अपराधी सरह व्यवहार गरिने गरेको अनुभव सुनाएका थिए। उनीहरूले बालन्याय प्रणालीले अंगीकार गरेको सुधारात्मक न्यायको अवधारणाअनुसार व्यवहार हुनुपर्ने, मुद्दाको शीघ्र न्याय निरूपण हुनुपर्ने तथा बालमैत्री न्यायिक प्रक्रिया सुनिश्चित गरिनुपर्नेमा जोड दिएका थिए।
सहभागीहरूले बालन्याय सम्बन्धी विद्यमान कानूनी व्यवस्थाअनुसार अपराधको प्रकृति, बालकको उमेर, व्यक्तिगत अवस्था तथा सर्वोत्तम हितलाई आधार मानी दिशान्तरण, सजाय स्थगन, सजाय छुट, प्यारोल सुविधा लगायतका वैकल्पिक व्यवस्थाहरू प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्ने धारणा व्यक्त गरेका थिए। पछिल्लो समय अदालतबाट बालन्याय सम्बन्धी सकारात्मक निर्णयहरू आउन थालेको उल्लेख गर्दै ती निर्णयहरूको प्रभावकारी कार्यान्वयनमा सबै निकाय संवेदनशील बन्नुपर्ने आवश्यकता औंल्याइएको थियो।त्यसैगरी शुक्रबार बाल सुधार गृहमा मनोसामाजिक परामर्श सीप विकास तालिम सम्पन्न भएको छ ।
नेपाल सरकार, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा सञ्चालन भएको तालिम असार १३ गतेदेखि सात दिनसम्म सञ्चालन भएको थियो । कार्यक्रमको उद्देश्य सुधार गृहमा रहेका बालबालिकाको मानसिक तथा मनोसामाजिक स्वास्थ्य सुदृढ गर्नुका साथै सकारात्मक सोच, आत्मविश्वास र जीवनोपयोगी सीपको विकास गर्नु रहेको थियो।
तालिममा मुख्य प्रशिक्षक सोएब अख्तरले मनोसामाजिक परामर्शका विविध आयाम, सकारात्मक व्यवहार विकास तथा अनलाइन व्यापारसम्बन्धी आधारभूत ज्ञानका विषयमा सहजीकरण गर्नुभएको थियो। समापन कार्यक्रममा सुधार गृहका प्रमुख श्याम राना, खरिदार कमलबहादुर राना, बालअधिकार अभियन्ता अधिवक्ता बसन्त गौतम, अधिवक्ता सरिता पौडेल तथा आयोजक पक्षका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।








