बाँकेको कोहलपुरमा लायन्सको डीजी प्रेसिडेन्ट मिट सुरु
कोहलपुर : लायन्स इनटरनेशनल डिष्ट्रिक ३२५ एन नेपालले बाँकेमा दुई दिने क्लब प्रेसिडेन्ट स्कुलिङ (डीजी प्रेसिडेन्ट मिट कार्यक्रम) सुरु गरेको छ ।
डिष्ट्रिकका पूर्व गभर्नर तथा मल्टिपल कोेअर्डिनेटर मधुसूधन शर्माले शुक्रबार कोहलपुरमा स्कुलिङको उद्घाटन गर्नु भएको हो ।
कार्यक्रममा लायन्स इन्टरनेशनलका पूर्व डिस्ट्रिक गभर्नरहरुले विभिन्न विषयमा उत्प्रेरणात्मक प्रस्तुती दिनु भएको हो । कार्यक्रममा पूर्व मल्टिपल कोअर्डिनेटर तथा पूर्व गभर्नर डी.के.ढुंगानाले सोच बदले जीवन बदलिन्छ भन्दै
लायन्सकर्मीसँग आग्रह गर्नुभयो, ‘सबैभन्दा कठिन काम आफूलाई बदल्ने रहेछ । आफू बदलिएपछि समाज पनि बदल्न सकिन्छ ?’
कार्यक्रममा निवर्तमान गभर्नर ज्ञानेन्द्रकुमार श्रेष्ठ, पूर्व गभर्नरहरु शेमराज शाक्य, मुकुट ढकाल मधुसूधन शर्मा र सीबी चन्दले सहजीकरण गर्नु भएको थियो । त्यसैगरी गोविन्द अधिकारी, लवराज अधिकारी, युवराज पौडेल, र कृष्णप्रसाद श्रेष्ठ सहजीकरण गर्नु भएको थियो ।
डिष्ट्रिक गभर्नर टीकाराम चपाईको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा एरिया नं. ४ का एरिया चिफ विन्दु चर्ती मगरले राष्ट्रिय झन्डाको अभिवादन गर्नु भएको थियो ।
कार्यक्रममा डिष्ट्रिक ३२५ एन नेपालका गभर्नर टीकाराम चपाईले लायन वर्ष २०२६–२०२७ मा आयोजना गर्ने योजना तथा कार्यक्रमका बारेमा जानकारी गराउनु भएको थियो । उहाँले लायन्स क्लबलाई स्मरणीय सेवाका कार्यक्रम सञ्चालन गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा आइतबार भने प्रथम डिष्ट्रिक गभर्नर नेत्रराज चटोत, द्वितीय डिष्ट्रिक गभर्नर चिन्तामणि धिताल, पूर्व डिष्ट्रिक गभर्नर विनोदकुमार श्रेष्ठ, डा.दलबहादुर गुरुङ, डिष्ट्रिक सचिव हरिहर बस्नेत, डिष्ट्रिक पूर्व सचिव उमा थापा मगर, कैलाश ढकाल, डिष्ट्रिक कोषाध्यक्ष छविलाल आचार्य र पूर्व गभर्नर चन्द्र केसीले सहजीकरण गर्ने कार्यक्रम रहेको छ ।
कार्यक्रममा लायन्स इनटरनेशनल डिष्ट्रिक ३२५ एन नेपालकोे एरिया नं. २ (दाङ, प्युठान, रोल्पा, रुकुुम), एरिया नं. ३ को सुर्खेत, दैलेख र जाजरकोट, एरिया नं. ४ को बाँके र बर्दियाका साथै एरिया नं. ५ को कैलाली, कञ्चनपुर, अछामका ७६ जना क्लब अध्यक्षको सहभागिता रहेको छ ।









