नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा ओली र थापाबीच टक्कर
नेपालगन्ज : बाँकेको नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी अध्यक्षका लागि समावेशी प्यालनबाट चिरञ्जीवी ओली र प्रजातान्त्रिक उद्योगी व्यवसायी संघबाट संजय थापाबीच दुई प्यानलमै टक्कर हुने भएको छ । ओली संघमा सदस्य, महासचिव हुँदै हाल बरिष्ठ उपाध्यक्ष पदमा कार्यरत हुनुहुन्छ । थापा भने संघका पूर्व सदस्य हुनुहुन्छ ।
नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष तथा समावेशी प्यानलका अगुवा टंकबहादुर धामीका अनुसार समावेशी प्यानलमा ओलीलाई सर्वसम्मत् रुपमा अध्यक्षको उम्मेदवार बनाउने सहमति जुटिसकेको छ । औपचारिक रुपमा उम्मेदवारी घोषणा भने बुधबार मात्रै हुनेछ । धामीका अनुसार पदाधिकारी र सदस्यको उम्मेदवार पनि करिब करिब टुंगो लागिसके पनि सहमतिका लागि प्रयास जारी रहेको छ ।
कांग्रेस निकटको प्रजातान्त्रिक उद्योगी व्यवसायी संघको आइतबारको बैठकले जिल्ला अध्यक्ष संजय थापालाई अध्यक्षको उम्मेदवार बनाउने सर्वसम्मत् निर्णय गरेको संघका जिल्ला सचिव हिमनाथ पौडेलले जानकारी दिनुभयो । अन्य पदका विषयमा भने कुनै छलफल नभएको पौडेलले बताउनु भयो । संघमा निर्वाचनको मिति घोषणा भएपछि दुबै प्यानलमा पदाधिकारीका आकांक्षीहरुले लविङ सुरु गरिरहेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी लगायतका दलहरु मिलेर समावेशी प्यानल बनेको छ । यो प्यानलबाट विगतमा दामोदर आचार्य, नन्दलाल वैश्य, अब्दुल वाहिद मन्सुरी चुन्ना र टंकबहादुर धामी बहुमत पदाधिकारीसहित निर्वाचित हुनु भएको थियो ।
अहिलेसम्म कांग्रेस निकट प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ एक्लै चुनाव लड्ने तयारीमा छ । एमाले र कांग्रेसबीच संयुक्त प्यानल बनाएर जाने आन्तरिक छलफल भए पनि एमाले पूर्ववत् रुपमा समावेशी प्यानलमा जोडिएपछि कांग्रेस एक्लिएको हो । संंघ अध्यक्षमा सुनिलकुमार शर्मा निर्वाचित भएपछि प्रजातान्त्रिक उद्योगी व्यवसायी संघका उम्मेदवारले नेतृत्वमा चुनाव जित्न सकेका छैनन् । यस पटक भने अध्यक्षमा थापालाई जिताउने गरी त्याग गर्न तयार रहेको संघका उद्योगी व्यवसायीहरु बताइरहेका छन् । संघका नेपालगन्ज नगर समिति अध्यक्ष शिव दाहाल अहिलेसम्म अध्यक्षको उम्मेदवार मात्र सर्वसम्मत् रुपमा टुंगो लागेकाले अरु पदमा पनि सर्वसम्मत् रुपमा नै उम्मेदवारी चयन हुने दाबी गर्नुहुन्छ ।
संघमा सबै क्षेत्रको प्रतिनिधित्वका लागि सर्वसम्मत् नेतृत्व चयन गर्नुपर्ने जनदवाब भए पनि नेतृत्वमै उम्मेदवारी घोषणाले त्यो सम्भावना न्यून हुँदै गएको छ ।
नेपालगन्ज उद्योग वाणिज्य संघको शनिबार बसेको ४९औं कार्य समिति बैठकले आगामी ३१ साउनमा साधारणसभा र १ भदौमा निर्वाचन गर्ने निर्णय गरेको हो । विधानले संघको कार्यकाल ६ महिनासम्म थप गर्न पाउने व्यवस्था रहे पनि अध्यक्ष धामी नेतृत्वको समितिले म्याद नथप्ने निर्णय गरेको भन्दै चौतर्फी प्रशंशा भइरहेको छ । संघले सदस्यता नविकरणका लागि एक साताको समय तोकेको छ । अहिले दुबै प्यानलका उम्मेदवारका आकांक्षीहरु सदस्यता नविकरणमा जोड दिइरहेको बुझिएको छ ।








