महेन्द्र राजमार्गको सम्झना चोकदेखि खजुरा क्यान्सर अस्पतालसम्म नगर बस चल्दै
नेपालगन्ज : खजुराको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका जाने बिरामीका लागि खुसीको खबर छ । बागेश्वरी यातायात प्रालिले महेन्द्र राजमार्गमा पर्ने बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चौकदेखि अस्पतालसम्म नगर बस सञ्चालन गर्न लागेका छ ।
क्यान्सर अस्पतालको आग्रहमा क्यान्सरका बिरामीहरुको सहजतालाई मध्यनजर गर्दै बागेश्वरी यातायतले क्यान्सर गेटसम्म पुग्ने गरि नगर बस सञ्चालन गर्ने भएको हो ।
अर्को सातादेखि सञ्चालन हुने नगर बसले खजुराबाट नेपालगन्जका लागि ४० रुपैयाँ, राँझा चोकलाई ५० रुपैया, कोहलपुरसम्मका लागि १ सय रुपैयाँ र सम्झना चोकसम्मका लागि १२५ रुपैयाँ सेवा शुल्क लिने जनाएको छ ।
अस्पतालका कार्यकारी निर्देशक डा. निरज भट्टराई र बागेश्वरी यातायत प्रालिका अध्यक्ष मनप्रसाद आचार्यबीच शुक्रबार नगर बस सञ्चालन सम्बन्धी सहमति भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका सहकोषाध्यक्ष शोभाखर पौडेलले जानकारी दिनुभयो ।
अस्पतालमा जान आएका दुरदराजका बिरामीहरुले भोग्दै आएको समस्याको सहजिकरणका लागि अस्पतालको आग्रहमा बस सञ्चालन गर्न थालिएको बागेश्वरी यातायातका अध्यक्ष आचार्यले बताउनु भयो। उहाँले पहिलो चरणमा सम्झना चौकबाट क्यान्सर गेटसम्म २ वटा बस सञ्चालन गरिने बताउँदै बिरामीको चाप र आवश्यकतालाई हेरेर पछि बस सेवा थप गर्न सकिने प्रतिबद्धता जनाउनु भयो ।
अस्पतालसम्म सिधै आउने साधन नपाएर अलमलमा पर्ने गरेका बिरामीहरुलाई नगर बस सञ्चालनले ठुलो राहत मिल्ने भन्दै अस्पतालका कार्यकारी निर्देशक डा. भट्टराईले खुसी ब्यक्त गर्दै बागेश्वरी यातायात प्रालि परिवारलाई धन्यवाद दिनुभयो ।
कर्णाली, सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट क्यान्सरको उपचार गर्न खजुरा क्यान्सर अस्पताल आउने बिरामीहरुले अस्पतालसम्म पुग्ने साधन नपाउँदा समस्या भोग्दै आएका थिए ।








