जयेन्दु बालसुधार गृहमा अधिकांशमा छालाको संक्रमण
नेपालगन्ज : भेरी अस्पताल नेपालगन्जले बाँकेको डुडुवा गाउँपालिका–६ आसमानपुरस्थित जयेन्दु बालसुधार गृहमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।
अस्पतालले १३६औँ स्थापना दिवसको अवसरमा एडभोकेसी फोरम नेपाल र जयेन्दु बालसुधार गृहसँगको समन्वय तथा सहकार्यमा शुक्रबार आयोजना गरेको एक दिने स्वास्थ्य शिविरमा गरिएको स्वास्थ्य परीक्षणमा अधिकांशमा छालाको संक्रमण भएको पाइएको थियो । आयोजना गरेको शिविरमा सुधार गृहमा रहेका १७३ बालकमध्ये ९८ जनाले विशेषज्ञ स्वास्थ्य परीक्षण तथा निःशुल्क औषधि सेवा पाएका थिए ।
परीक्षण गरिएका ९८ बालकमध्ये ७३ जनामा छाला रोग, १४ जनामा मेडिसिनसम्बन्धी समस्या, १२ जनामा नाक–कान–घाँटीसम्बन्धी समस्या, पाँच जनामा मानसिक स्वास्थ्य समस्या तथा चार जनामा दन्तसम्बन्धी समस्या देखिएको छाला तथा यौनरोग विशेषज्ञ डा. सुवास पौडेलले जानकारी दिनुभयो ।
केही बालकमा एकभन्दा बढी स्वास्थ्य समस्या समेत रहेको चिकित्सकहरूले बताएका छन्। स्वास्थ्य परीक्षणपछि आठ जनालाई थप उपचारका लागि भेरी अस्पताल रिफर गरिएको थियो ।
नाक–कान–घाँटी विशेषज्ञ डा. दिनेश चौधरीका अनुसार केही बालकमा कान पाक्ने, सुनाइ कम हुनेलगायतका समस्या देखिएका थिए । दन्तरोग विशेषज्ञ डा. विवेककुमार महतोले दाँतमा किरा लाग्ने, गिजा सुन्निने तथा दन्तहर्षजस्ता समस्या बढी देखिएको बताए। कन्सल्टेन्ट फिजिसियन डा. संकेत रिसालका अनुसार पेट दुख्ने, कमजोरी महसुस हुने र छाती दुख्ने समस्या भएका बालक पनि भेटिएका थिए ।
स्वास्थ्य टोलीमा भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन दर्नाल, कन्सल्टेन्ट फिजिसियन डा.संकेत रिसाल, छाला तथा यौनरोग विशेषज्ञ डा. सुवास पौडेल, मानसिक रोग विशेषज्ञ डा.दिप्ती काफ्ले, बालरोग विशेषज्ञ डा. कुलदेव गोइत, नाक–कान–घाँटी विशेषज्ञ डा. दिनेश चौधरी, दन्त विशेषज्ञ डा. विवेककुमार महतो, मेडिकल अधिकृत डा. आनन्द न्यौपाने, फार्मेसी प्रमुख पदम अर्याल, नर्सिङ प्रशासक पदमा देवकोटा, नर्सिङ निरीक्षक बसुन्धरा ज्ञवाली, नर्स एलिसा शिवहरि तथा मनोसामाजिक परामर्शदाता रुपा रावतलगायत सहभागी हुनु भएको थियो ।
शिविर उद्घाटन कार्यक्रममा बोल्दै भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन दर्नालले बाँके जिल्ला अदालतसँग भएको पूर्वसम्झौताअनुसार अबदेखि जयेन्दु बालसुधार गृहमा नियमित मासिक स्वास्थ्य शिविर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । भेरी अस्पताल विकास समितिका निमित्त अध्यक्ष डा. डक्टप्रसाद धितालले कानुनी विवादमा परेका बालकहरू निराश नभई आफूलाई सुधार्दै समाजका असल नागरिक बन्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा कानुनी विवादमा परेका बालकहरूले धेरै बालक छाला, कान, दाँत तथा मानसिक स्वास्थ्य समस्याबाट पीडित रहेको उल्लेख गर्दै नियमित स्वास्थ्य शिविर सञ्चालन गर्न आग्रह गरेका थिए । जग्गादाता समाजसेवी जयकेश सिंहले बालसुधार गृहलाई वास्तविक अर्थमा सुधार र पुनर्स्थापनाको केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिनु भएको थियो ।
एडभोकेसी फोरम नेपालका वरिष्ठ प्रदेश संयोजक तथा कार्यक्रम सञ्चालक अधिवक्ता बसन्त गौतमले कानुनी विवादमा परेका बालकहरूले पनि शिक्षा, स्वास्थ्यलगायत संविधान र बालअधिकारसम्बन्धी कानुनले सुनिश्चित गरेका आधारभूत अधिकार पूर्णरूपमा उपभोग गर्न पाउनुपर्ने माग गर्नुभयो । बालसुधार गृहका प्रमुख किशोर शर्माले स्वास्थ्य शिविरले बालकहरूको स्वास्थ्य अधिकार कार्यान्वयनमा महत्त्वपूर्ण सहयोग पुगेको बताउनु भयो । कार्यक्रम भेरी अस्पताल विकास समितिका निमित्त अध्यक्ष डा. डक्टप्रसाद धितालको अध्यक्षतामा सम्पन्न भएको थियो ।








