भेरी अस्पतालद्वारा गौरवमय १३६औं वर्ष पूरा, भव्य वाषिकोत्सव

नेपालगन्ज : भेरी अस्पताल नेपालगन्जले गौरवमय १३६ वर्ष पूरा गरेको छ । १२ साउन १९४७ मा तत्कालीन पृथ्वी वीर डिस्पेन्सरीका रुपमा सात शैयाबाट स्थापना भएको अस्पताल विभिन्न कालखण्डमा विभिन्न नामाकरण हुँदै संघीय सरकारको केन्द्रीय अस्पतालको रुपमा रहेको छ ।

एकै वर्ष स्थापना भएको काठमाडौंको केन्द्रीय अस्पतालले १३७औं वार्षिकोत्सव मनाइरहँदा भेरीले भने एक वर्ष घटाएर १३६औं वार्षिकोत्सव भव्य रुपमा मनाएको हो ।
संघीय सरकारका स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता आउने पूर्वनिर्र्धारित कार्यक्रम रहे पनि विभागीय मन्त्री नआउँदा अस्पतालको नयाँ भवन निर्माणमा भूमिका खेलेका पूर्वमन्त्री तथा बाँके क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य मोहम्मद इस्तियाक राईलाई प्रमुख अतिथि बनाइएको थियो ।
सांसद राईले अस्पतालको विकासका लागि पहल गर्न आफूले कुनै कसर बाँकी नराख्ने भन्दै सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टीका बाँकेदेखि कैलालीसम्मका सांसदसँग साझा एजेण्डा बोकेर काम गर्ने प्रतिबद्धता जनाउनु भयो । उहाँले सरकारले घोषणा गरे अनुसारको ५०० शैयाको विशिष्टिकृत स्वास्थ्य सेवा दिने अस्पताल बनाउन जोड दिनुपर्ने बताउनु भयो ।
कार्यक्रममा बाँके क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य सुरेश चौधरी र कैलाली क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य केपी खनालले पनि भेरीको विकास र सेवा विस्तारका लागि पहल गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।
भेरी अस्पताल विकास समितिका कार्यवाहक अध्यक्ष डक्टप्रसाद धितालको अध्यक्षतामा सम्पन्न वार्षिकोत्सव समारोहमा अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट नवीन दर्नालले अस्पतालको स्वास्थ्य प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रत्नबहादुर खत्रीले भेरी अस्पतालमा प्रदेश सरकारले बाल शिशुका लागि ५० शैयाको समता भवन निर्माण गर्ने बताउनु भयो । लुम्बिनी प्रदेशसभा सदस्य माया पुनले पनि प्रदेश सरकारबाट पहल गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।

वार्षिकोत्सव समारोहमा पलम्बरद्वय राकेश थारु अनि दिनेश चिडिमार र कार्यालय सहयोगी गोकुल चिडिमारलाई उत्कृष्ट कर्र्मचारीको रुपमा पुरस्कृत गरिएको थियो ।
अस्पतालले २५ वर्ष सेवा गरेका दन्त चिकित्सक डा.निर्माण शाह लगायत ३ जना स्वास्थ्यकर्मी र कर्र्मचारीलाई पनि कदर पत्रले सम्मान गरेको थियो । वार्षिकोत्सवको अवसरमा आयोजना गरिएका खेल प्रतियोगिताको विजेताहरुलाई पनि पुरस्कृत गरिएको थियो ।

वार्षिकोत्सवलाई भव्य बनाउन स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले सांस्कृतिक कार्यक्रम, नाटक र गजल वाचन गरेर मनोरञ्जन प्रदान गरेका थिए । सोही अवसरमा अस्पतालको मुखपत्र अक्सिजन पनि विमोचन गरिएको थियो ।