आज गुरु पूर्णिमा गुरुप्रति सच्चा भाव प्रकट गरी मनाइँदै

नेपालगन्ज : आज आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै छ ।
गुरु पूर्णिमाका दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनलाई शिष्यहरूले विभिन्न मिष्टान्न भोजनका साथै श्रद्धाभाव र सम्मान प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइन्छ ।
गुरु पूर्णिमा हिन्दू, बौद्ध र जैन धर्मका अनुयायीहरूले मनाउने एक महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व हो । हिन्दुहरुले वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्म भएको दिन व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा मनाउँछन् ।
बौद्ध धर्मअनुसार, गुरु पूर्णिमाको दिन गौतम बुद्धले आफ्ना प्रथम पाँच शिष्यलाई धर्मचक्र प्रवर्तन गरे अर्थात् उनले पहिलोपटक बौद्ध धर्मको उपदेश दिएका थिए । त्यसैले यो दिन बुद्ध धर्मावलम्बीहरूका लागि पनि ऐतिहासिक र आध्यात्मिक दृष्टिले महत्वपूर्ण मानिन्छ ।
जैन धर्ममा, यो दिन महावीर स्वामीका मुख्य शिष्य इन्द्रभूति गौतमले दीक्षा ग्रहण गरेका थिए भन्ने मान्यता छ । त्यसैले यस दिन गुरुको स्मरण जैन धर्ममा पनि गरिन्छ ।

गुरु शब्द ‘गु’ र ‘रु’ बाट बनेको हो । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश दिने भनिन्छ । अर्थात् जो अज्ञानताको अन्धकारलाई हटाएर ज्ञानको प्रकाश दिन्छ, त्यो गुरु हो । गुरु न केवल शैक्षिक ज्ञान दिने व्यक्ति हो, तर आध्यात्मिक र नैतिक जीवनका पथप्रदर्शक पनि हुन् । गुरु बिना ज्ञान सम्भव छैन भन्ने मान्यता छ ।