माइती नेपालद्वारा बर्दियामा मानव बेचबिखनविरुद्ध सचेतना फैलाउन विद्यार्थीलाई अभिमुखीकरण

संजय आचार्य । गुलरिया
माइती नेपाल बर्दियाले मानव बेचबिखनविरुद्ध सचेतना फैलाउन विद्यालय स्तरीय अभिमुखीकरण गरेको छ ।
खुला सीमाको फाइदा उठाउँदै मानव बेचबिखन तथा ओसारपसारका घटना बढ्दै गएको चिन्ताबीच जिल्लाका विद्यार्थीलाई लक्षित गरी विश्व मानव बेचबिखनविरुद्ध दिवसको अवसरमा बिहीबार गुलरियाको नेपाल राष्ट्रिय शम्भुशरण माध्यमिक विद्यालय, खैरापुरमा मानव बेचबिखनविरुद्ध सचेतनामूलक अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको हो।
“हाम्रो आवाज स् चेलीबेटी बेचबिखनबाट मुक्त समाज” भन्ने राष्ट्रिय मूल नारासहित आयोजना भएको कार्यक्रममा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहेको थियो।
नेपाल भारत खुला सीमाका कारण विशेषगरी महिला तथा बालबालिका मानव बेचबिखनको उच्च जोखिममा पर्ने भएकाले विद्यार्थीलाई समयमै सचेत बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको माइती नेपाल बर्दियाकी संयोजक गायत्री रिमालले बताउनु भयो । रिमालले विद्यार्थीमार्फत परिवार र समुदायसम्म सचेतनाको सन्देश फैलाउने लक्ष्य रहेको समेत बताउनु भयो ।
अभिमुखीकरणका क्रममा मानव बेचबिखनको वर्तमान अवस्था, कानुनी व्यवस्था, बेचबिखनका प्रमुख कारण, दलालहरूले अपनाउने नयाँनयाँ प्रलोभन र तौरतरिका, जोखिमयुक्त क्षेत्र तथा सुरक्षित रहन अपनाउनुपर्ने सावधानीका विषयमा विस्तृत सहजीकरण गरिएको थियो। वैदेशिक रोजगारी, आकर्षक रोजगारीको प्रलोभन, अध्ययन तथा विवाहको बहानामा हुने बेचबिखनबाट कसरी जोगिने भन्ने विषयमा समेत विद्यार्थीलाई जानकारी दिइएको थियो।

कार्यक्रममा विद्यालयका शिक्षक कृष्णप्रसाद कँडेलले माइती नेपालले समाजमा मानव बेचबिखनविरुद्ध जनचेतना फैलाउन खेलेको भूमिका प्रशंसनीय रहेको बताउनु भयो। उहाँले यस्ता कार्यक्रमले विद्यार्थीमा सचेतना बढाउनुका साथै समाजमा सकारात्मक सन्देश प्रवाह हुने भएकाले आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा सहभागी विद्यार्थीका तर्फबाट सलमान बेहनाले कार्यक्रममा सिकेका विषयलाई आफ्ना परिवार, साथीभाइ र समुदायमा समेत पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । युवा पुस्तालाई सचेत बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने उल्लेख गर्दै भविष्यमा पनि निरन्तर सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बेहनाले बताउनुभयो ।
माइती नेपाल बर्दियाले स्थापनाकालदेखि नै मानव बेचबिखन तथा ओसारपसार रोकथाम, जोखिममा परेकाको उद्धार, परिवारसँग पुनर्मिलन र पुनर्स्थापनाका क्षेत्रमा काम गर्दै आएको छ। संस्थाले सरकारी तथा गैरसरकारी निकाय, विद्यालय, युवा र अभिभावकसँग सहकार्य गर्दै जिल्लामा यस्ता जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ ।