दैलेखी समाजमा गिरी दोस्रो कार्यकालको लागि अध्यक्ष
नेपालगन्ज : दैलेखी समाज बाँकेको अध्यक्षमा दोस्रो कार्यकालको लागि पूर्णदेव गिरी निर्वाचित हुनु भएको छ । समाजको २१औं स्थापना दिवसको अवसरमा आइतबार नेपालगन्जमा सम्पन्न १८औं वार्षिक साधारणसभा तथा आठौँ अधिवेशनले गिरीको नेतृत्वमा १७ सदस्यीय कार्य समिति सर्वसम्मत् रुपमा चयन गरेको हो ।
कार्य समितिको वरिष्ठ उपाध्यक्ष सुरेश थापा, उपाध्यक्ष पूर्णकुमारी थापा, सचिव गणेशबहादुर खड्का सह-सचिव हिरामणि दाहाल र कोषाध्यक्ष शिवप्रसाद पाण्डेय चयन हुनु भएको छ । त्यसैगरी सदस्यहरुमा इन्द्रबहादुर कार्की, धर्मराज सुनार, विष्णुप्रसाद उपाध्याय, दीपक थापा, आशा लम्साल, पुष्कर सिजापती, शंकरप्रसाद खनाल, विना थापा मगर, प्रेमप्रकाश विसी र देवबहादुर खड्का निर्वाचित हुनु भएको छ ।
सोही अवसरमा दैलेखको इतिहास, भूगोल, भाषा संस्कृति, पुरातत्व, शिक्षा, स्वास्थ्य पत्रकारिता लगायतका विषय समेटेर प्रकाशित गरिएको दैलेखी सन्देश’ स्मारिका पनि विमोचन गरिएको थियो । कर्णाली प्रदेश सरकारका निवर्तमान सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, पूर्व प्रतिनिधिसभा सदस्य दीपा शर्मा, साहित्यकार जगत उपाध्याय प्रेक्षित, प्रशासक विपिन आचार्य, बमबहादुर केसी, कृणप्रसाद जैसी, ओमप्रसाद देवकोटा, खगेन्द्र मल्ल, नेपालगन्ज-१ का वडा अध्यक्ष प्रमोद रिजाल, वडा नं. २ का वडा अध्यक्ष मनोज श्रेष्ठले संयुक्त रुपमा स्मारिका विमोचन गर्नु भएको हो ।
नगर प्रमुख विष्टसहित १५ लाई सम्मान
समाजका विभिन्न क्षेत्रमा योगदान गर्नु भएका व्यक्तित्वहरुलाई समाजले सम्मान पनि गरेको थियो । नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, कर्णाली प्रदेश मुख्यमन्त्री कार्यालयका सचिव विपिन आचार्य, नेपालगन्ज २ का वडा अध्यक्ष मनोजकुमार श्रेष्ठ, पूर्व प्रहरी नायब निरीक्षक गणेशविक्रम शाह, एचसीआरसी अस्पतालका स्त्रीरोग विशेषज्ञ डा.मञ्जु विसी, फिजिसियन डा.शंकर केसी, बाँके कला केन्द्रका अध्यक्ष सुन्दर गुरुङ र लेखापरीक्षक शिशिर राईलाई सम्मान गरिएको थियो ।
त्यसैगरी समाजलाई विभिन्न क्षेत्रबाट योगदान गर्ने नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र्र, ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा, स्किल अप ट्रेनिङ सेन्टर नेपालगन्ज, नेपाल मेडिकल सेल्स एण्ड रिप्रिजेन्टेटिभ एशोसियसन बाँके, नेपालगन्ज साइक्लिङ क्लब, कृष्णसार एफएम र ग्रीनपिस सेकेण्डरी स्कुललाई पनि सम्मान गरिएको थियो ।









