आदिवासी जनजाति महासंघ बर्दियाको अध्यक्षमा श्रेष्ठ निर्वाचित
संजय आचार्य । गुलरिया
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् बर्दियाको अध्यक्षमा इन्द्रकुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ। महासंघको शनिबार गुलरियामा सम्पन्न चौथो जिल्ला अधिवेशनमा निकटतम प्रतिस्पर्धीलाई ५ मतको अन्तरले पराजित गर्दै श्रेष्ठ अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
नवनिर्वाचित श्रेष्ठले संस्थालाई अझ प्रभावकारी, समावेशी, उत्तरदायी र सक्रिय बनाउँदै जिल्लाका सम्पूर्ण आदिवासी जनजाति समुदायको साझा संस्थाका रूपमा विकास गर्ने बताउदै आदिवासी जनजातिको हकहित, भाषा, संस्कृति, पहिचान तथा संवैधानिक अधिकारको संरक्षण र प्रवर्द्धनका लागि सबै सरोकारवाला निकायसँग सहकार्य गर्दै अघि बढ्ने समेत बताउनुभयो। अधिवेशनले ८ सदस्यीय नयाँ पदाधिकारी चयन गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् बर्दियाका अध्यक्ष मेघबहादुर गुरुङले नवनिर्वाचित नेतृत्वलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। अधिवेशनको अवसरमा स्थानीय भेषभूषा, परम्परागत बाजागाजा तथा सांस्कृतिक झाँकीसहित भव्य र्याली समेत आयोजना गरिएको थियो। विभिन्न जातीय समुदायले आफ्नो मौलिक कला, संस्कृति र परम्परा झल्काउने सांस्कृतिक प्रस्तुति दिएका थिए। सांस्कृतिक विविधताको आकर्षक प्रदर्शनले कार्यक्रमलाई थप उल्लासमय बनाएको थियो ।









