आज नागपञ्चमी, ढोकामा टाँस्नु भयो त नागको फोटो ?

नेपालगन्ज : सनातनी हिन्दु धर्मलम्बीहरुले आज नागपञ्चमी पर्व मनाउँछन् ।
श्रावण शुक्ल पञ्चमीका दिन सोमबार अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख गरी आठ नागलाई ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ ।
घरका मूलढोकामा नागको तस्वीर टाँसेर पूजा गर्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ ।
वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने अनिष्ट हुने भएकाले नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको धार्मिक मत छ ।
आजको दिन नागको पूजा गर्दा सर्पदंशको भय हट्ने, कुलको कल्याण हुने र अक्षय पुण्य प्राप्त हुने धार्मिक मान्यता छ । ज्योतिष शास्त्र अनुसार राहु र केतुको कारण बनेको सर्प योगको शान्ति पनि आजकै दिन नाग पूजा गर्नाले सर्प दोष हट्ने विश्वास रहेको छ ।