सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्यसम्बन्धी अधिकारलाई अझ प्रभावकारी बनाउन सुझाव

नेपालगन्ज : बाँकेका कानुन व्यवसायीले सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्यसम्बन्धी अधिकारलाई अझ प्रभावकारी बनाउन सरकारलाई सुझाव दिएका छन् ।
एम्पलीफाई चेन्ज र महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) काठमाडौंले सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लाई संशोधन गर्न प्रस्ताव गरिएको विधेयकका विषयमा मंगलबार नेपालगन्जमा बाँकेका कानुन व्यवसायीहरुसँग गरेको छलफलमा यस्तो सुझाव आएको हो ।
कार्यक्रममा अधिवक्ताहरु पुनम श्रेष्ठ, सुनिता शर्मा, वसन्त गौतम, सुनिता वर्मा, दुर्गा खड्का, लगायतले प्रस्तावित विधेयकका विभिन्न प्रावधान, त्यसले पार्न सक्ने कानुनी तथा सामाजिक प्रभाव र कार्यान्वयनका व्यावहारिक पक्षबारे आफ्ना धारणा, सुझाव तथा अवलोकन प्रस्तुत गर्नु भएको हो । सहभागीहरूले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यसम्बन्धी अधिकारलाई अझ प्रभावकारी रूपमा सुनिश्चित गर्न संशोधन विधेयकलाई अधिकारमुखी, व्यावहारिक र कार्यान्वयनयोग्य बनाउनुपर्नेमा जोड दिनु भएको थियो ।
सोे अवसरमा महिला कानून र विकाश मञ्चका कार्यक्रम व्यवस्थापक अधिवक्ता दीपेश श्रेष्ठले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन संशोधनका लागि प्रस्ताव गरिएका प्रमुख प्रावधान तथा संशोधनका विषयवस्तुबारे प्रस्तुतीकरण गर्नुभएको थियो। उहाँले प्रस्तावित संशोधनले महिलाको सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकारको संरक्षण, कार्यान्वयन र सेवामा पार्न सक्ने प्रभावका विषयमा प्रकाश पार्नुभएको थियो ।
त्यसैगरी महिला कानून र विकास मञ्चका कार्यकारी निर्देशक अधिवक्ता सविन श्रेष्ठले विधेयकमा प्रस्ताव गरिएका संशोधनका कानुनी तथा व्यावहारिक प्रभावबारे चर्चा गर्नुभएको थियो। उहाँले कानुनी प्रावधान निर्माणसँगै त्यसको प्रभावकारी कार्यान्वयन, सेवा प्रवाहमा स्पष्टता तथा अधिकारको व्यवहारिक सुनिश्चिततालाई समेत ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनु भयो ।