बर्दियामा ६ महिने मनोसामाजिक मनोविमर्शकर्ता तालिम सुरु

संजय आचार्य । गुलरिया
बर्दियाको गुलरियामा ६ महिने मनोसामाजिक मनोविमर्शकर्ता तालिम सुरु भएको छ।
समुदायमा बढ्दो मनोसामाजिक समस्या, हिंसा तथा अपराध न्यूनीकरण गर्ने उद्देश्यले ‘हाम्रो साहस’ परियोजना अन्तर्गत थारू महिला उत्थान केन्द्र र लुम्बिनी अपाङ्गता विकास केन्द्रको आयोजनामा तालिम सुरु गरिएको हो ।
तालिममा लैङ्गिक समानता, सामाजिक समावेशीकरण तथा अपाङ्गतासँग जोडिएका हानिकारक सामाजिक मूल्य–मान्यता परिवर्तन गर्दै सबै प्रकारका हिंसा रोकथामका विषयमा प्रशिक्षण दिइनेछ।
तालिम उद्घाटन कार्यक्रममा थारू महिला उत्थान केन्द्रकी कार्यकारी निर्देशक प्रिज्मा सिंह थारूले समाजमा आत्महत्या, अपराध तथा विभिन्न मनोसामाजिक समस्या बढ्दै गएको अवस्थामा दक्ष मनोविमर्शकर्ताको आवश्यकता बढेको बताउनु भयो ।
उहाँले मनोसामाजिक परामर्श तालिमले व्यक्ति, परिवार र समुदायलाई समस्या सामना गर्न सक्षम बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउँदै परामर्शदाताले सर्वप्रथम आफूलाई सशक्त बनाउनुपर्नेमा जोड दिनुभयो । प्राकृतिक विपद्का समयमा समेत प्रभावित व्यक्तिमा मानसिक तथा मनोसामाजिक समस्या देखिने भएकाले त्यस्ता अवस्थामा परामर्श सेवाको आवश्यकता अझ बढी हुने उहाँले बताउनु भयो ।
पूर्वी नेपालका भोटेकोशी तथा कोशी क्षेत्रमा हालै आएको बाढीको उदाहरण दिँदै थारूले प्राकृतिक विपद्पछि प्रभावित समुदायमा डर, तनाव, चिन्ता र अन्य मनोसामाजिक समस्या देखिन सक्ने भएकाले दक्ष जनशक्तिको आवश्यकता रहेको समेत बताउनु भयो।
आयोजकका अनुसार सुरुमा १० जनालाई मात्र तालिम दिने योजना भए पनि ह्युमन नेपालसँगको सहकार्यमा स्रोत व्यवस्थापन गरी सहभागी संख्या २० पुर्‍याइएको हो। तालिममा प्रहरी कार्यालय तथा महिला सेलका प्रतिनिधिलाई समेत सहभागी गराइने भएको छ ।
थारू महिला उत्थान केन्द्रका कार्यक्रम प्रबन्धक तेजमणि पन्थका अनुसार ८ अक्टोबर २०२६ देखि सुरु भएको तालिम ७ मार्च २०२७ सम्म सञ्चालन हुनेछ।
तालिमका सहजकर्ता उमेश शिवाकोटीका अनुसार ६ महिनाको अवधिमा ७८० घण्टाको कक्षा सञ्चालन हुनेछ। तालिममा सैद्धान्तिकसँगै व्यावहारिक अभ्यासलाई समेत समेटिएको छ।
ह्युमन नेपाल धनगढीका मनोविद् उमेश शिवाकोटी र मोनिका खड्काले तालिमको सहजीकरण गरिरहनु भएको छ । परियोजनाले समुदायको क्षमता विकास, स्थानीय संरचनासँग सहकार्य र मनोसामाजिक सेवामा पहुँच विस्तारलाई प्राथमिकतामा राखेको आयोजकले जनाएको छ। कार्यक्रममा यूके इन्टरनेसनल डेभलपमेन्ट, ‘हाम्रो साहस’ र युएन वुमन सहयोगी संस्थाका रूपमा रहेका छन्।