बर्दियामा शैक्षिक गुणस्तर सुधार र विद्यार्थी ‘ड्रपआउट’ रोक्न सांसद थारूको जोड

संजय आचार्य । गुलरिया
प्रतिनिधिसभा सदस्य ठाकुरसिंह थारूले बर्दियामा शैक्षिक गुणस्तर सुधार, विद्यालय छाड्ने विद्यार्थीको पहिचान र शिक्षामा समान पहुँच सुनिश्चित गर्न स्थानीय तह तथा सरोकारवालाले प्रभावकारी योजना बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको छ।
बर्दियामा आयोजित शैक्षिक सुधारसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै सांसद थारूले दिगो विकास लक्ष्य अन्तर्गत सन् २०३० सम्म हासिल गर्नुपर्ने शिक्षा सम्बन्धी लक्ष्य र जिल्लाको वास्तविक शैक्षिक अवस्थाबीच तुलना गर्दै समीक्षा गर्नुपर्ने बताउनुभयो।
५ र ६ कक्षासम्म करिव शतप्रतिशत बालबालिका विद्यालय पुग्ने अवस्था देखिए पनि कक्षा १० सम्म आइपुग्दा धेरै विद्यार्थीले बीचमै पढाइ छाड्ने गरेको उल्लेख गर्दै विद्यालय छाडेका विद्यार्थी कहाँ छन्, किन पढाइ छाडे र उनीहरूलाई पुनः शिक्षामा कसरी जोड्ने भन्ने अद्यावधिक तथ्याङ्क सम्बन्धित निकायसँग नरहेको थारुको भनाइ थियो।
आर्थिक अभाव, मजदुरी तथा पारिवारिक जिम्मेवारीका कारण पढाइ छाड्न बाध्य भएका युवालाई पुनः शिक्षाको अवसर दिन रात्रि विद्यालय, अतिरिक्त कक्षा तथा वैकल्पिक सिकाइका कार्यक्रम सञ्चालनबारे सोच्नुपर्ने वहाले बताउनुभयो।
सांसद थारूले विद्यालयको भौतिक पूर्वाधार, खानेपानी, सरसफाइ, विद्युत् र इन्टरनेटको अवस्थाप्रति पनि ध्यानाकर्षण गराउनुभयो। जिल्लाको तथ्याङ्कमा ८६ प्रतिशत जनसङ्ख्यामा खानेपानीको पहुँच देखिए पनि शुद्ध खानेपानी पाउनेको सङ्ख्या १३ प्रतिशत मात्र रहेको उल्लेख गर्दै विद्यालयमा बालबालिकाका लागि सुरक्षित खानेपानीको व्यवस्था आवश्यक रहेको बताउनुभयो।
कतिपय विद्यालयले इन्टरनेटको शुल्कसमेत तिर्न नसकेको, एउटै कक्षा कोठालाई तीन भागमा विभाजन गरी ए, बी र सी सेक्सन सञ्चालन गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्नुभयो। अर्कोतर्फ, पर्याप्त भौतिक संरचना भएका विद्यालयमा समेत उपलब्ध स्रोत साधनको उचित उपयोग र व्यवस्थापन हुन नसकेको विषयमा समीक्षा गर्नुपर्ने उहाँको भनाइ थियो।
शिक्षा ऐन संशोधनको सन्दर्भमा बोल्दै थारूले प्राथमिक तहमा खुद भर्ना दर शतप्रतिशत, माध्यमिक तहमा ९५ प्रतिशत र प्रारम्भिक बाल विकासमा सहभागिता दर ९० प्रतिशत पुर्‍याउने लक्ष्य हासिल गर्न वर्तमान कार्यशैली पर्याप्त छ कि छैन भन्ने विषयमा गम्भीर छलफल आवश्यक रहेको बताउनुभयो। प्राविधिक तथा व्यावसायिक शिक्षा र छात्रवृत्तिको अवसर विस्तार गर्न पनि वहाले जोड दिनुभयो।
‘सुरक्षित भविष्य परियोजना’ अन्तर्गत आयोजित ‘शैक्षिक सुधारका लागि शिक्षा शाखा प्रमुख र सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरूसँग अन्तरक्रिया कार्यक्रम’ जिल्ला समन्वय समितिको सभाहल बर्दियामा सम्पन्न भएको हो।
नेपाल सरकारको शिक्षा तथा खेलकुद मन्त्रालय, शिक्षा विभाग र शिक्षा विकास तथा समन्वय एकाइ बर्दियाको आयोजनामा भएको कार्यक्रममा बाँके युनेस्को क्लब र प्लान इन्टरनेसनलको सहकार्य रहेको थियो।
कार्यक्रममा विद्यालय शिक्षाका समस्या तथा चुनौती पहिचान, समाधानका उपायबारे छलफल, असल अभ्यासको आदानप्रदान र कार्यक्रम कार्यान्वयनमा एकरूपता कायम गर्ने विषयमा छलफल गरिएको थियो।