धारा नेपालगन्ज म्याराथन : भोलि कन्क्लेभ, पर्सी म्याराथन

नेपालगन्ज : धारा नेपालगन्ज म्याराथनको १२औँ संस्करणको तयारी पूरा भएको आयोजकले जनाएको छ ।
क्रियटिभ ह्यान्डस्ले बिहीबार नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष टिएस ठकुरीले यसपटक १२ वटा विधामा प्रतिस्पर्धा हुनेछ । बीपी चोकबाट सुरु हुने म्याराथनमा ४२ किलोमिटर पुरुष खुला म्याराथन, २१ किलोमिटर महिला हाफ म्याराथन, १० किलोमिटर महिला तथा पुरुष खुला दौड, पाँच किलोमिटर महिला तथा पुरुष खुला दौड र विद्यालयस्तरीय छात्रछात्रा दौड समावेश छन् । त्यस्तै, तीन किलोमिटर कर्पोरेट रन, किड्स रन, ह्वीलचेयर रन, दुई किलोमिटर फेमिली रन र तीन किलोमिटर रन फर अल पनि सञ्चालन हुनेछन् ।
म्याराथनको पूर्वसन्ध्यामा यस पटक पनि नेपालगन्ज कनक्लेभ आयोजना हुँदैछ । कनक्लेभका निर्देशक जनक नेपालका अनुसार पाँचवटा सेसन हुनेछन् । ‘खेल, पर्यटन र युवाः सम्भावनाको नयाँ ढोका’, युवा उद्यमीमार्फत व्यवसाय विस्तार, तीन तहका सरकारबीचको समन्वय र कार्यसम्पादन, कथाको भविष्य तथा प्रकाशनका चुनौतीलगायत विषयमा छुट्टाछुट्टै सेसनमा छलफल हुनेछ ।
कनक्लेभको अन्तिम सेसनमा नेपाली, उर्दु, अवधी, थारू र मगर भाषाका कविहरूले कविता वाचन गर्नेछन् । त्यसैगरी, २० जनाको टोलीले देउडा प्रस्तुत गर्ने कार्यक्रम पनि तय गरिएको छ ।
म्याराथनका टाइटल स्पोन्सर केएल दुगड ग्रुपका प्रमुख कार्यकारी अधिकृत प्रदीप छाजेडले सबैको सामूहिक प्रयत्नबाट नेपालगन्ज म्याराथनको अभियान सफल हुँदै दाबी गर्नुभयो ।