१६ दिने अभियान अन्तर्गत माइती नेपालद्वारा विद्यार्थीलाई लैङ्गिक हिंसाविरुद्ध सचेतना
संजय आचार्य । गुलरिया
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत बर्दियाको गुलरिया नगरपालिकास्थित महाकवि देवकोटा माध्यमिक विद्यालयमा विद्यालय स्तरीय सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
मंसिर १० गते माइती नेपाल बर्दियाको आयोजनामा तथा गुलरिया नगरपालिकाको समन्वयमा सम्पन्न कार्यक्रममा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा गुलरिया नगरपालिकाका उपप्रमुख सावित्रा गौतमले लैङ्गिक हिंसा अन्त्यका लागि समाजका सबै पक्ष जिम्मेवार र सक्रिय हुनुपर्ने बताउनुभयो। उहाँले यस्ता सचेतनामूलक कार्यक्रमले विद्यार्थीहरूमा सामाजिक विकृति र विसङ्गतिविरुद्ध आवाज उठाउने क्षमता विकास गर्नुका साथै सुरक्षित र हिंसा मुक्त समाज निर्माणमा सहयोग पुर्याउने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा माइती नेपाल बर्दियाकी संयोजक गायत्री रिमालले संस्थाले जिल्लामा सञ्चालन गर्दै आएका विभिन्न गतिविधि तथा सेवाबारे जानकारी गराउनुभयो। विद्यार्थीहरूलाई मानव बेचबिखन तथा ओसारपसार, लागूऔषध दुर्व्यसनका असर र जोखिमबारे जानकारी दिँदै यस्ता समस्याबाट जोगिने उपाय समेत रिमालले प्रस्तुत गर्नुभयो।
कार्यक्रममा विद्यार्थीहरूलाई लैङ्गिक हिंसाका स्वरूप, त्यसका सामाजिक असर तथा हिंसाविरुद्ध आवाज उठाउनुपर्ने आवश्यकताबारे समेत सचेत गराइएको थियो।
‘लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता, पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ भन्ने सन्देश सहित आयोजित कार्यक्रमले विद्यार्थीहरूमा हिंसाविरुद्ध सचेतना अभिवृद्धि गर्ने र सुरक्षित समाज निर्माणमा सकारात्मक भूमिका खेल्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।











