कैलालीका नदीमा पहिलो पटक ७० डल्फिन गणना

कैलालीको पथरैया माेहनाकाे दाेभानमा डल्फिन गणना हुँदै । फोटो : मानबहादुर ठकुल्ला

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीका नदीमा पहिलो पटक जलचर प्राणी डल्फिनको संख्या बढेको छ ।
डल्फिन जलचर तथा जैविक विविधता संरक्षण कैलालीले गत भदौ १८ र १९ गते गरेको गणनाले डल्फिनको संख्यामा वृद्धि भएको देखाएको हो । संस्थाका अध्यक्ष भोजराज ढुंगानाका अनुसार १३ वटा स्थानमा ३५ जनाले एकसाथ डल्फिन गणना गर्दा यसवर्ष १५ वटा बच्चासहित ७० वटा डल्फिन गणना गरिएको हो । यद्यपी संस्थाले गणनाको रिपोर्ट औपचारिक रुपमा सार्वजनिक गरेको छैन । सबैभन्दा धेरै डल्फिन मोहना–पथरैया दोभान, काँडा–पथरैया दोभान, पथरैया–गैरीनाला दोभानमा फेला परेका छन् । ‘एकै पटक १५ वटासम्म डल्फिन देखिएका छन’ उनले भने, ‘विगतको तुलनामा संख्या बढेको छ ।’ यसअघि २०७३ र २०७५सालमा समेत डल्फिनको आधिकारिक गणना भएको थियो । २०७३ मा ६५ र २०७५ मा ५५ मात्रै गणना भएको थियो ।
‘हामीले गणना त हरेक वर्ष गर्छौ तर आधिकारिक रुपमा यो वर्षसहित तीन वर्ष मात्रै भएको छ’ उनले भने–‘स्थानीयले गणना गरेको वर्षहरुमा पनि डल्फिनको संख्या यतिधेरै थिएन ।’ उनले डल्फिन गणनामा डा.मुकेश चालिसे अध्यक्ष रहेको नेपाल जैविक विविधता समाजले प्राविधिक सहयोग गरेको बताए । उनले डल्फिन गणनाको आधिकारिक तथ्याङ्क भने समाजले नै सार्वजनिक गर्ने जानकारी दिए । मान्छेपछिको चेतनशील प्राणीका रुपमा मानिएको डल्फिन वर्षायाममा बच्चा हुर्काउन कैलालीको दक्षिणी क्षेत्रमा आउने गर्छ । यो वर्ष डल्फिन पहिलो पटक असार १ गते मोहना र पथरैया नदीको दोभान नजिकै देखिएको थियो । टीकापुर र भजनी नगरपालिकाका बासिन्दा विगत लामो समयदेखि डल्फिन संरक्षणमा आफै जुटेका छन् । उनीहरु स्वस्फूर्त रुपमा डल्फिनको संरक्षण गर्दै आएका छन । स्थानीयकै पहलमा विभिन्न १४ स्थानमा डल्फिन संरक्षण केन्द्र स्थापना भएका छन भने समुदायमा ३ वटा इको क्लब र ९ वटा डल्फिन क्लब गठन गरिएका छन् । कैलालीमा मात्र डल्फिन संरक्षणमा प्रत्यक्ष अप्रत्यक्ष गरी करिव ६० हजार स्थानीय सक्रिय छन् ।
स्थानीयकै पहलमा २०५६ बाट डल्फिन संरक्षण भइरहेको छ । पहिलो पटक भोजराज श्रेष्ठ ‘गुलेली बाजे’ले डल्फिन संरक्षणको अभियान थालेका हुन् । उनलाई अमेरिकी नागरिकले डल्फिनको महत्वका बारेमा सुनाएपछि यस्तो पहल थालेका हुन् । त्यसअघि सीमावर्ती मोहना नदीमा भारतीयले जाल हानेर डल्फिन मार्थे । कहिले काँही स्थानीयले समेत मार्थे । माछा मार्ने क्रममा समेत थुप्रै डल्फिन मरेका थिए । त्यसको महत्वका बारेमा कसैलाई जानकारी नै थिएन । स्थानीयले स्वाँसु, सोस लगायत भनेर चिन्थे । यहाँ ग्याँगेटिक जातको डल्फिन पाइन्छ। यो जातको डल्फिन नेपालका साथै भारत, पाकिस्तान र बंगलादेशमा मात्रै पाइन्छ। यो माशांहारी प्राणी हो । यसले मुख्य आहारका रुपमा माछा, घोँगीलगायत खान्छ । यसले बच्चा जन्माउँछ । वर्षमा एक वा एकै पटक दुई वटासम्म बच्चा जन्माउने गरेको अनुसन्धानले देखाएको छ ।