कण्डम जस्तै सेनेटरी प्याड पनि निःशुल्क गर्न माग
रमेशकुमार यादव । नेपालगन्ज
बाँकेका किशोरीहरुले कण्डम जस्तै सेनेटरी प्याड पनि निःशुल्क गर्न सरकारसँग माग गरेका छन् ।
आइतबार नेपालगन्जमा पत्रकार सम्मेलन गरी किशोरीहरुले पुरुषहरुलाई विभिन्न स्वास्थ्य संस्थामा कन्डम निःशुल्क वितरण गरे जस्तै महिलाको लागि पनि सेनेटरी प्याड निःशुल्क वितरण गर्नुपर्ने अभियान्ता श्वेता गुरुङले सरकारसँग माग गरिन् । पुरुष प्रधान देश जस्तै प्रत्येक स्वास्थ्य चौकीबाट निःशुल्क रुपमा कण्डम वितरण भइरहे पनि महिलालाई अत्यावश्यक पर्ने सेनेटरी प्याडमा सरकारले कर बृद्धि गरेको कारण सांकेतिक विरोध प्रदर्शन गर्न लागेको नेपालगन्ज नगर स्तरीय किशोरी क्लबकी अध्यक्ष अन्जना चर्तुवेदीले बताइन् ।
स्थानीय सरकारले प्रत्येक विद्यालयमा सेनेटरी प्याडको व्यवस्था गरेको बताए पनि कार्यान्वयन नभएको किशोरीहरुको गुनासो छ ।
कार्यक्रममा जिल्ला बाल क्लब सञ्जालका अध्यक्ष मेनका रावतेले आफ्नो माग पूरा गराउन आगामी १२ असोजमा जिल्ला प्रशासन कार्यालय बाँकेसहित जिल्लाका आठ वटै स्थानीय तह र दातृ निकायमा ज्ञापन पत्र बुझाउने बताइन् ।