अर्जुन दास हत्याको विरोधमा टीकापुरमा प्रदर्शन

टीकापुर : घाँटी छिनालेर हत्या गरिएका अर्जुन दासका हत्यारालाई कानुनी दायरामा ल्याउनुपर्ने भन्दै कैलालीको टीकापुरमा प्रदर्शन भएको छ । इलाका प्रहरी कार्यालय टीकापुर अगाडि स्थानीयले मंगलवार प्रदर्शन गरेका हुन् ।स्थानीयले ‘हत्या हिंसा बन्द गर, हत्यारालाई फाँसी दे’ लगायत नाराबाजी सहित प्रदर्शन गरेका छन् । जानकी गाउपालिका –९ का २५ वर्षका दास पुस २ गते साँझ घरबाट निस्केका थिए । राति घर नफर्केका दासको शव पुस ३ गते दिउँसो स्थानीय घाँस काट्ने महिलाले अमरावती सामुदायिक वनमा देखेका थिए । सामुदायिक वनको करिब १ किलोमिटरभित्र दासको विभत्स र क्रुर ढंगले हत्या गरिएको थियो । उनलाई रुखमा बाँधेर नग्न बनाइ घाँटी छिनालेर हत्या गरिएको थियो । यसैबीच प्रहरीले १ जनालाई पक्राउ गरेकाे छ तर पक्राउ गरिएका व्यक्तिलाई हालसम्म सार्वजनिक गरेको छैन । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले हत्या प्रकरणबारे अनुसन्धान जारी रहेकाले पक्राउ पर्नेको अवस्था सार्वजनिक नगरेको बताए । हत्यामा २ जनाभन्दा बढी व्यक्ति संलग्न रहेको र पहिचानसमेत भइसकेको प्रहरीले जनाएको छ ।