उत्तर प्रदेशमा कोरोनाबाट २६ जनाको मृत्यु, १८ सय संक्रमित
उत्तर प्रदेश सरकारद्वारा लकडाउन ३० जुनसम्म लम्ब्यायो, भेला र समारोह गर्न पनि रोक लगाउने मुख्यमन्त्री आदित्यनाथबाट घोषणा
नेपालगन्ज : बाँके र बर्दियाको सीमावर्ती राज्य भारतको उत्तर प्रदेशमा शनिबार राति १० बजेसम्म कोरोना भाइरस (कोभिड १९ंंं) बाट २६ जनाको मृत्यु भएको छ ।
भारत सरकारको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा मृत्यु भएका सात सय ७९ जनामध्ये उत्तर प्रदेशका २६ जना रहेका छन् । उत्तर प्रदेशमा संक्रमितको संख्या भने एक हजार सात सय ७८ जना रहेको छ । अहिलेसम्म दुई सय ४८ जना मात्र निको भएका छन् । कोरोना संक्रमण बढ्दै गएकाले उत्तर प्रदेश सरकारले लकडाउन ३० जुनसम्म गर्ने निर्णय गरेको छ । भारतको उत्तर प्रदेश सरकारले ३० जुनसम्म मानिसहरुलाई भेला हुन र सभा समारोह गर्न रोक लगाएको छ । मुख्यमन्त्री योगी आदित्यनाथले राजनीतिक याली र सामाजिक–सांस्कृतिक समारोहमा रोक लगाउने घोषणा गरेका हुन् ।