एकैदिन १२ वटा वडा बालविवाह मुक्त घोषणा गरेको नेपालगन्ज उपमहानगरको रेकर्ड !

नेपालगन्ज : बाँकेको नेपालगन्ज उप–महानगरपालिकाले एकैदिन १२ वटा वडा बालविवाह मुक्त घोषणा गर्ने देशकै पहिलो स्थानीय तहको रेकर्ड बनाएको छ ।
वीपी चोकस्थित कार्यालय परिसरमा सोमबार आयोजित कार्यक्रममा नगरका वडा नम्बर ५, ६, ७, ८, १३, १४, १५, १६, १७, १९, २२ र २३ नम्बर वडालाई बाल विवाहमुक्त वडा घोषणा गरिएको थियो । नगरका अन्य ११ वटा वडा यसअघि नै बालविवाह मुक्त घोषणा भएका थिए । गत १९ पुसमा नगरका ३, ४, ९, ११, १८, २० र २१ वडालाई एकैदिन बालविवाह मुक्त घोषणा गरिएको थियो । त्यत्तिखेर एकैदिन ७ वडा बालविवाह मुक्त घोषणा गर्ने देशको पहिलो स्थानीय तहको रेकर्ड पनि उपमहानगरले बनाएको थियो । एकैदिन १२ वडालाई एकैदिन बालविवाह मुक्त घोषणा गरेर उपमहानगरले आफ्नै रेकर्ड पनि तोडेको छ ।

नगरका १, २, १० र १२ नं. वडा भने दुई दुई वटा वडा संयुक्त रुपमा बालविवाह मुक्त घोषणा गरिएको थियो । नगरका २३ वटै वडा बालविवाह मुक्त भएपछि उपमहानगरपालिका उपप्रमुख उमा थापा मगरले नेपालगन्जलाई पनि बालविवाह मुक्त पालिका घोषणा गरेकी थिइन् । उपप्रमुख थापा मगरले चुनौतीका बीचमा पनि नगरलाई बाल विवाहमुक्त घोषणा गर्न सकिएको बताइन् । समारोहमा जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजयकुमार श्रीवास्तव, नेपाली कांग्रेस बाँकेका सचिव सुधांशु कोइराला, नेकपा एमालेका नगर कमिटीका अध्यक्ष दत्तप्रसाद आचार्य, उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेत, सामाजिक विकास महाशाखा प्रमुख शोभा शाह, वडा नम्बर १७ का वडा अध्यक्ष अजय पाठकलगायतले बालविवाह मुक्त पालिका घोषणाको कार्यान्वयनमा जोड दिएका थिए । सो अवसरमा नेपालगन्ज उपमहानगरपालिकालाई बालविवाह मुक्त घोषणा गर्ने योगदान गरेको भन्दै एक दर्जनभन्दा बढी व्यक्ति र संस्थालाई सम्मान गरिएको थियो ।