नेपालगन्जका ७१ प्रतिशत शिक्षक पुग्दैनन्, समयमै विद्यालय !

नेपालगन्ज : नेपालगन्ज नगरपालिकामा रहेका सामुदायिक विद्यालयका एक तिहाइ शिक्षक मात्र समयमै विद्यालय पुग्ने गरेको भेटिएको छ ।

नेपालगन्जको सामुदायिक विद्यालयमा निरीक्षण गर्दै नगर प्रमुख प्रशान्त विष्ट । फोटोहरु : सौजन्य गोविन्द शर्मा

नगर प्रमुख प्रशान्त विष्ट, शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापालगायतको टोलीले सोमबार नगरका तीन वटा सामुदायिक विद्यालयमा गरेको छड्के निरीक्षणमा कूल ८४ जना शिक्षकमध्ये २४ जना मात्र विद्यालय समयमा पुगेका थिए । कूल शिक्षकको २८.५७ प्रतिशत मात्र समयमै विद्यालय पुग्छन् । ७१.४२ प्रतिशत शिक्षक समयकै विद्यालय पुग्दैनन् ।

मंगलप्रसाद माविमा ५३ शिक्षक कार्यरत रहेकोमा सोमबार बिहान १०.३० बजेसम्म चार जना शिक्षकले मात्रै हाजिर रजिष्टरमा उपस्थिति जनाएको पाइएको थियो । बिहान १०.१० बजे महेन्द्र माविमा पुग्दा १८ जना शिक्षकमध्ये ८ जना मात्रै हाजिर भएका थिए । कन्या माविमा १३ जना शिक्षक कार्यरत रहेकोमा एक जना स्वीकृत विदामा रहेको र अन्य १२ जना सबै शिक्षक विद्यालयमा उपस्थित भएको शिक्षा महाशाखा प्रमुख थापाले बताए । कन्या माविमा निरीक्षण टोलीले धन्यवाद दिएर फर्केको थियो । सम्पूर्ण शिक्षक कर्मचारी समयमै उपस्थित भएको,विद्यालयको चौरमा सुनसान देखिएको, शिक्षकहरुले नियमित कक्षा सञ्चालन गरेको पाइएपछि कन्या माविलाई निरीक्षण टोली धन्यवाद दिएर फर्केको हो । अन्य विद्यालयमा भने शिक्षकहरु समयमै विद्यालयमा उपस्थित नभएको, आफुखुशी विदामा बसेको, हाजिर नगरेको लगायतका कमजोरी भेटिएको थियो । निरीक्षणपछि नगर प्रमुख विष्टले विद्यालयमा अनुपस्थित शिक्षक तथा कर्मचारीलाई आवश्यक कारवाही गर्न शिक्षा शाखा प्रमुख थापालाई निर्देशन दिए । प्रमुख थापाले अनुपस्थित शिक्षकहरुलाई तत्कालै स्पष्टीकरण सोध्ने बताए ।