गडरिया दम्पतिको हत्यापछि फरार २ मुख्य अभियुक्त पक्राउ, ५० हजारमै ज्यान लिएको स्वीकार

नेपालगन्ज : बाँके प्रहरीले कोहलपुर नगरपालिका १४ पार्वतीपुरका दम्पति कृष्णकुमार र अञ्जली गडरियाको हत्याका दुई जना मुख्य अभियुक्तलाई पक्राउ गरेको छ । उनीहरु भारतीय नभएर नेपालगन्जवासी हुन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी श्यामकृष्ण अधिकारीका अनुसार नेपालगन्ज उप–महानगरपालिका १९ का राजन सोनकर र वडा नं. १८ का साकिल अलि शेषलाई नेपालगन्ज १८ लग्दहवा र सुर्जीगाउँबाट मंगलबार राति कटुवा पेस्तोलसहित पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय कोहलपुरका इन्चार्ज डीएसपी ऐनबहादुर मल्लका अनुसार भाइबुहारीको हत्या गर्न दाइ विजयकुमार गडरियाले सीमावर्ती भारतीय बजारबाट ११ हजार रुपैयाँमा कटुवा पेस्तोल किनेर अभियुक्त सोनकरलाई दिएका थिए । गडरिया दम्पत्तिको हत्या गर्ने क्रममा अभियुक्त शेषले एक राउण्ड हवाइ फायर गरेका थिए । यद्यपि घरमा सुतिरहेका कृष्ण र अञ्जलीलाई घाँटी थिचेर हत्या गरिएको थियो । घटनास्थलमा प्रयोग भएको हतियार प्रहरीले राजनबाट बरामद गरेको छ । मंगलबार पक्राउ परेका अभियुक्तद्वयले हत्या गर्न आफूहरुले ५० हजार रुपैयाँ मात्र पाएको प्रहरीलाई प्रारम्भिक बयानमा बताएका छन् । यसअघि पक्राउ परेका हत्याका योजनाकार दाइ विजयकुमार र भाउजु रेखाले भारतीय कन्ट्याक्ट किलरलाई एक लाख रुपैयाँ दिएको बताएका थिए । पूरानो कुटपिटको बदलासँगै सम्पत्ति पनि हत्याको कारण भएको प्रहरीले जनाएको छ ।