युरिया मल भन्दै कैलालीमा चिनीको तस्करी !

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीमा रसायनिक मलको नाममा चिनी तस्करी हुने गरेको छ । सरकारले किसानलाई समयमा सहज रूपमा मल उपलब्ध गराउन नक्दा भारतीय बजारबाट मल ल्याउन दिइएको छुटको फाइदा उठाउँदै तस्करहरुले भारतीय बजार तिकुनियाबाट अवैध रुपमा चिनी आयात गरिरहेको रहस्य खुलेको छ ।

सत्ती भन्सार कार्यालय र शसस्त्र प्रहरी खक्रौलाको राजस्व गस्ती टोलीले संयुक्त रुपमा गस्ती गर्ने क्रममा मंगलबार राति १२ बजे टीकापुर नगरपालिका ७ कालाकुण्डाबाट मलको बोराभित्र १५ बोरा चिनी बरामद गरेको हो । गस्ती टोलीले एक हल राँगा ,दुई वटा डन्लप (गोरु गाडा) ४० बोरा युरिया र ६ बोरा डीएसपी मल पनि बरामद गरिएको शसस्त्र प्रहरी बल वीओपी खक्रौलाका इन्चार्ज शसस्त्र प्रहरी निरीक्षक धनबहादुर सिंहले जानकारी दिए ।

नेपालमा सहजरूपमा मल उपलब्ध हुन नसक्दा प्रशासनले पनि किसानलाई भारत बाट आउने मल माथि कडाइ गरेको छैन । भन्सार छलेर सामान नेपाल भित्र्याउने गरेकोले सत्ती भन्सार कार्यालयले लक्ष्य अनुसारको राजस्व संकलन गर्न सकेको छैन । साउनको दोस्रो हप्तासम्म सत्ती भन्सारले १८ लाख रुपैयाँ संकलन गरेको जनाइएको छ भने गत वर्षको साउन महिनामा मात्र एक करोड ७२ लाख १४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । साउन र भदौमा विशेषगरी कपडा नेपाल भित्रिने भए पनि भन्सारबाट कपडा न्यून मात्रामा आयात भएको देखिन्छ ।