टीकापुरमा हप्तामा औसत तीन जना लागूऔषध मुद्दामा पक्राउ

तीन महिनामा २३ लागूऔषध सम्बन्धी मुद्दामा ३३ जना पक्राउ, लागूऔषधबिरुद्ध प्रहरीको विशेष अप्रेशन जारी

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुरमा लागूऔषधको कारोबार र सेवन डरलाग्दो किसिमले बढिरहेको छ ।
इलाका प्रहरी कार्यालय टीकापुरले तीन महिनाको अवधिमा ३३ जनालाई लागूऔषध मुद्दामा पक्राउ गरेको जनाएको छ । यसरी हेर्दा हरेक महिना ११ जनालाई प्रहरीले पक्राउ गरेको देखिन्छ  । पन्ध्र दिनमा औसत ६ जना र सात दिनमा औसत तीन जनाका दरले पक्राउ गरेको देखिन्छ ।
इप्रका टीकापुरका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) उद्ववसिंह भाटका अनुसार तीन महिनामा लागूऔषध सम्बन्धी २३ वटा मुद्दामा अनुसन्धानका लागि ३३ जनालाई पक्राउ गर्दा ५१ ग्राम ७०० मिलिग्राम खैरो हिरोइन, २६ ग्राम ६०० मिलिग्राम चरेस र १२० ग्राम गाँजा बरामद गरिएको छ ।
पक्राउ पर्नेहरुमा १८ देखि २५ वर्ष उमेर समूहका धेरै छन् । इप्रका प्रमुख भाटले लागूऔषधको काराबोर तथा ओसारपसार नियन्त्रण गर्ने अभियान अन्तरगत टीकापुर क्षेत्रमा विशेष अप्रेशन चलाइरहेको बताउँछन् ।
प्रहरीले चोरी तस्करी नियन्त्रण, फरार प्रतिवादी पक्राउ, जुवातास तथा गुण्डागर्दी नियन्त्रण अन्तर्गत पनि काम भइरहेको जनाएको छ । गत वर्षको फागुनदेखि अहिलेसम्म टीकापुर क्षेत्रमा गुण्डागर्दी गर्ने ७३५ जनालाई नियन्त्रणमा लिएर १९ जनालाई सार्वजनिक हितविरुद्धको मुद्दा चलाइए, भारतीय सीमावर्ती क्षेत्रबाट अवैध रुपमा ल्याएको ६ लाख चार हजार रुपैयाँ बराबरको समान बरामद गरिएको, जुवातास खेल्ने र खेलाउन संलग्न २० जना, ठगीका ८ जना, चोरीका ७ जना, सवारी ज्यान सम्बन्धी ३ जना र नक्कली मुद्रा सम्बन्धी मुद्दाका २ जनालाई पक्राउ गरेर कारबाहीको दायरामा ल्याइएको इप्रकाले सार्वजनिक गरेको प्रगति प्रतिवेदनमा उल्लेख छ ।