प्रेस युनियनको स्थापना दिवसमा बाँकेमा २७ जनाद्वारा रक्तदान

नेपालगन्ज : नेपाल प्रेस युनियन बाँके शाखाले रगत अभाव पूर्ति गर्न रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
नेपाल प्रेस युनियनको ३२औं स्थापना दिवसको अवसरमा शनिबार नेपालगन्जको भेरी अस्पताल परिसरको नेपाल रेडक्रस क्षेत्रीय रक्तसञ्चार केन्द्रमा रक्तदान कार्यक्रम आयोजना गरिएको कार्यक्रममा २७ जनाले रक्तदान गरेका छन् ।
कार्यक्रममा प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली, सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी_ दीपक चन्द, नेपाली काँग्रेस बाँकेका कार्य समिति सदस्य अमृतकुमार आचार्य, युनियनका उपाध्यक्ष समीरमान श्रेष्ठ, कार्यसमिति सदस्य कमल खत्री, पत्रकारहरु विक्रम बुढाक्षेत्री, मार्सलराज सन्ज्याल, अच्युत गौतम, सशस्त्र प्रहरीका सिनियर तथा जुनियर अधिकृत र जवानहरु, अन्य सञ्चारकर्मी, सर्वसाधारणले रक्तदान गरेका थिए ।
रक्तदान कार्यक्रमको नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले शुभारम्भ गरेका थिए । सोही अवसरमा युनियन बाँके शाखाले प्रकाशन गरेको २०८० सालको भित्ते पात्रो पनि विमोचन गरिएको थियो । युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नगर प्रमुख विष्ट, नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रिय उपाध्यक्ष हेमन्त कर्माचार्य, पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाई, युनियन लुुम्बिनी प्रदेशका उपाध्यक्ष जयसिंह केसी र महासचिव नविन गिरी, पत्रकार महासंघ बाँकेका पूर्वअध्यक्ष झलक गैरे लगायतले पात्रो विमोचन गरेका थिए ।