बालसुधार गृह किशोरको कब्जामा हुँदा सधैं झडप, बाँकेमा एकको मृत्यु

बाँकेको बालसुधार गृहमा भएको झडपका घाइतेहरु । इन्सेटमा मृतक सुलभ केसी

नेपालगन्ज : बालसुधार गृहमा बालक भन्दा किशोरको संख्या बढ्दा झडपका घटना बढिरहेका छन् । बाँकेको जयेन्द्रु बालसुधार गृहमा मात्र ६५ प्रतिशत १८ वर्षभन्दा माथिका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी सन्तोषसिंह राठौरका अनुसार बालसुधार गृृहमा २५४ जना रहेकोमा १६५ जना १८ वर्षभन्दा माथिका छन् । जुन कूल संख्याको ६४.९६ प्रतिशत होे । बिहीबार राति ११ बजे झडप हुने दुई पक्षमा सबै १८ वर्षमाथिका थिए । ११ जना घाइते भएकामध्ये रुपन्देहीको कचन गाउँपालिका–४ का २१ वर्षीय सुलभ केसीको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचारका क्रममा मृत्यु भयो । घाइतेमध्ये अन्य ६ जना पनि अपरान्हतिर डिस्चार्ज भएका थिए । बाँकी चार जना टाउकोमा चोट लागेपनि खतरामुक्त रहेको बाँके प्रहरीले जनाएको छ । झडपका क्रममा चार जना भने बाल सुधार गृहबाट फरार भएका छन् । शुक्रबार राति ११ः४५ बजेसम्म यो समाचार तयार पार्दासम्म उनीहरु सम्पर्कमा आएका थिएनन् ।
सर्वोच्च अदालतले तोकेको अवधि पूरा नगरेसम्म १८ वर्ष उमेर नाघे पनि बाल सुधार गृहमै बस्न पाउने सुविधा दिएपछि देशभरीका बालसुधार गृह किशोरले भरिन थालेका छन् ।