अवैध सीमा प्रवेश र तस्करी रोक्न १८ युवाको गस्ती

मानबहादुर ठकुल्ला । टीकापुर
नागरिक पनि बर्दी बिनाका सिपाही हुन् भन्ने कुरा कैलाली भजनी नगरपालिका ५ पगियाप्रसारका युवाले गरेको अभ्यासले सिद्ध गरेको छ ।
सीमा नाकामा राज्यका निकायको उपस्थिति नहुँदा भारतमा बसेका नेपालीहरु चोरबाट आउँदा टोल समाजमा कोरोनाको खतरा हुने देखेपछि १८ जनाले सीमा क्षेत्रमा गस्ती थालेका छन् । भजनी ५ का गुलरिया, डाक्टरघाट, कौवाखेडा र कालुघाट गरी चार नाकाहरुमा युवाले अवैधानिक सीमा प्रवेश रोक र तथा तस्करी नियन्त्रणमा सक्रिय भइरहेका छन् । स्थानीय युवाहरु शसस्त्र प्रहरीसँगै ड्यूटी गर्न थालेका छन् ।
‘लामो समयदेखि प्रहरी प्रशासनको निगरानी नभएका नाकाहरुमा लकडाउन घोषणा भएपछि सो नाकाहरुमा अवैधानिक रुपमा कोही पनि प्रवेश गर्न नपाउन भन्ने उद्देश्यले गस्ती सुरु गरेका हौं’, स्वयम् सेवक सिद्धराज जोशी भन्छन्, ‘वडा कार्यालय, प्रहरी, जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर हामीले गस्ती गरिरहेका छौं ।’
गृह मन्त्रालयले स्वयम् सेवाको भावनाले देश र समुदायको भलाइका लागि सक्रिय रुपमा गरिरहेको कदमलाई अनुमोदन गरिसकेको छ । पगियाप्रसारका युवाले सक्रियता बढाएपछि सीमामा तस्करी नियन्त्रण तथा अवैध सीमा प्रवेश रोकथाममा मद्दत पुगेको स्थानीय बताउँछन् ।