बेचबिखनको जोखिममा रहेका महिलाका लागि ज्ञान नेपालले सेफ हाउस बनाउँदै

नेपालगन्ज : मानव ओसारपसार तथा बेचबिखनविरुद्ध बाँकेमा क्रियाशील गैरसरकारी संस्था शुभ सन्देश सभा नेटवर्क (ज्ञान नेपाल)ले बेचबिखनको जोखिममा रहेका महिलाका लागि ज्ञान नेपालले नेपालगन्जमा सेफ हाउस बनाउने भएको छ ।
संस्थाले शनिबार नेपालगन्जमा आयोजना गरेको वार्षिक प्रगति प्रस्तुत तथा अन्तरक्रिया कार्यक्रममा संस्थाका कार्यक्रम अधिकृत तिलकबहादुर नेपालीले मानव ओसारपसार तथा बेचबिखनको जोखिममा रहेका महिलाहरुलाई उद्दारपछि आपतकालिन ट्रान्जिटका लागि यथाशिघ्र सेफ हाउस निर्माण गर्ने बताए ।
यसअघि आफ्नो सेफ हाउस नहुँदा संस्थाले चालु आर्थिक वर्षमा नै संस्थाले तीन जनालाई शक्ति समूहको सेल्टर होममा पठाइएको र र दुई जना महिलालाई उद्दार गरि साथी संस्थाको सेल्टरमा पठाइएको थियो ।
संस्थाले गत आर्थिक वर्षमा नेपालबाट भारततर्फ जाँदै गरेको शङ्कास्पद १४४ जना नागरिकलाई सिमानाकाबाट घर फिर्ता गरेको जनाएको छ ।
गत वर्ष सिमा नाकाको बुथमै एक हजार ७ सय ७३ जनालाई सूचना तथा परामर्श सेवा प्रवाह गरेको छ । चालु आबको पुुससम्ममा ६६७ जनालाई सूचना तथा परामर्श सेवा प्रवाह गरिएको संस्थाले जनाएको छ । नेपालगन्जको जमुनाहा नाकामा सञ्चालन गरिएको बुथबाट गत आर्थिक वर्षमा नेपालबाट भारततर्फ जाँदै गरेका ९१ जना महिला र ५३ जना पुरुष गरि शङ्कास्पद १४४ जना नागरिकलाई परामर्श दिई भारत जान रोकेर घरतर्फ फर्काइएको कार्यक्रम अधिकृत नेपालीले बताए ।
बाँके, बर्दिया, दाङ, कपिलबस्तु र जुम्ला जिल्लाका दलित, सिमान्तकृत, विपन्न, असहाय तथा प्राकृतिक विपद पीडितहरुलाई लक्षित गरि विभिन्न सामाजिक कार्यहरु समेत सञ्चालन गर्दै आइरहेको संस्थाका उपाध्यक्ष डा.डक्टप्रसाद धितालले जानकारी दिए ।
संस्थाले लक्षित वर्गको आर्थिक विकास, सामुदायिक सशक्तिकरण, प्रत्यक्ष सहयोग तथा सेवामुखी कार्यक्रम अन्तर्गत गत आर्थिक बर्षमा बाँके, बर्दिया, दाङ, कपिलबस्तु र जुम्लाका अत्यन्तै विपन्न तथा असहाय अवस्थाका ११९ जना बालबालिकालाई अध्ययनका लागि छात्रबृत्ति प्रदान गरेको छ । वैकल्पिक रोजगारस्वरुप विपन्न तथा कमजोर आर्थिक अवस्था भएका १० परिवारलाई विभिन्न व्यवसायिक लघु परियोजना अन्तर्गत बङ्गुरपालन, बाख्रापालन, किराना पसल सञ्चालन, फ्रेस हाउस सञ्चालन लगायतमा सहयोग गरेको उपाध्यक्ष धितालले प्रष्ट पारे । संस्थाले गत वर्षमा बर्दियामा एक विपन्न एवं दलित परिवार र बाँकेको नेपालगन्जमा एक जना असहाय तथा एकल महिलालाई बस्नका लागि आवास निर्माण गरेको छ । खानेपानीको अभाव भोगिरहेका बर्दियाको एउटा वस्ती र दाङको दुई वटा वस्तीका बासिन्दाहरुलाई सामूहिक रुपमा खानेपानी उपभोग गर्नका लागि मोटरजडित पानीट्याङ्की निर्माण गरि खानेपानीको व्यवस्था गरेको छ ।
संस्थाले जुम्लाको सिँजामा दृष्टिविहिन तथा विपन्न विद्यार्थीहरुलाई छात्रबाससहित शैक्षिक सहयोग कार्यक्रम सञ्चालन गरिरहेको छ । उक्त छात्रबासमा ५ देखि २१ वर्ष उमेर समुहका ६ महिला र १० पुरुष गरि १६ जना दृष्टिविहिनहरुले विभिन्न कक्षामा निरन्तर शिक्षा हासिल गर्दै आइरहेको ज्ञान नेपालले जनाएको छ ।
गतबर्ष मुगु र जुम्लामा गएको पहिरोमा परि पीडित बनेका जुम्ला सिँजाक्षेत्रका ६७ पहिरो पीडित घरपरिवार र छायानाथ रारा ११, मुगुका ७० पहिरो पीडित घरपरिवारलाई खाद्यान्न तथा लत्ताकपडा राहतस्वरुप वितरण गरिएको संस्थाले जानकारी दिएको छ ।
त्यसैगरी यो आर्थिक वर्षको पुस महिनासम्ममा मानव ओसारपसार तथा बेचबिखनविरुद्ध विभिन्न जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरेको, विभिन्न जनचेतनामूलक नाटक, रेडियो बहस, समय सान्दर्भिक र लोककल्याणकारी सूचना प्रसारण तथा प्रकाशन गर्दै आएको छ ।
गत कार्तिक १७ गते राति गएको भूकम्पका कारण पीडित बनेका जाजरकोटको भेरी नगरपालिका ४ मुलपानी र बोहोरा गाउँमा पुगी त्यहाँका ३६७ घरपरिवारलाई बाक्लो कम्बल, पीफोर्म तथा लगाउने लत्ता कपडासमेत वितरण गरिएको संस्थाका उपाध्यक्ष धितालले जानकारी दिए ।