नेपालगन्जमा राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता सुरु
नेपालगन्ज : बाँकेमा २५ वर्षपछि राष्ट्रिय स्तरको व्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । नेपालगन्जमा २०५५ सालमा राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता भएको थियो ।
लुम्बिनी प्रदेश खेलकुद परिषद्को आर्थिक सहयोगमा बाँके जिल्ला व्याडमिन्टन संघको आयोजनामा बिहीबारदेखि नेपालगन्ज रंगशालास्थित कवर्ड हलमा ‘प्रथम नेपालगन्ज कप राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता’ सुरु भएको हो । लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले प्रतियोगिताको उद्घाटन गरेका हुन् ।
१३ माघसम्म सञ्चालन हुने प्रतियोगितामा देशभरबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियसहित करिव २ सय ५० जना खेलाडी सहभागी भएको संघका अध्यक्ष संजय थापाले बताए । पुरुष एकल खुल्ला, पुरुष युगल, महिला एकल, पुरुष युगल ‘बी लेभल’ र ४५ प्लस भेट्रान्स डबल्स गरी पाँच वटा विधामा प्रतियोगिता राखिएको छ । पुरुष एकलका विजेताले नगद ७० हजार, दोस्रोले ३५ हजार तथा तेस्रो हुने दुई जनाले १५/१५ हजार रुपैयाँ नगद पुरस्कार, मेडल र प्रमाणपत्र पाउनेछन ।
महिला एकलका विजेताले ६० हजार, दोस्रो हुनेले ३० हजार तथा तेस्रो हुने दुई जनाले १५/१५ हजार प्राप्त गर्नेछन । पुरुष युगलका विजेताले नगद ५० हजार, दोस्रोले २५ हजार तथा तेस्रो हुनेले १५/१५ हजार रुपैयाँ पाउने छन् । यस्तै पुरुष युगल (बी लेभल)ले ३० हजार, दोस्रोले २० हजार तथा तेस्रो हुनेले १०/१० हजार पाउनेछन । यसैगरी पुरुष युगल (भेट्रान्स ४५ प्लस)का विजेताले ३० हजार, दोस्रोले २० हजार तथा तेस्रो हुनेले १० /१० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।