संक्रमितलाई भगाउने प्रयास असफल

प्रहरी नियन्त्रणमा रहेका संक्रमितलाई नेपालगन्ज ल्याईदै

नेपालगन्ज : कोरोना संक्रमण पुष्टि भएका ब्यक्तिलाई आइसोलेसनमा ल्याउन खोज्दा स्थानीयले भगाउने प्रयास गरेका छन । बाँकेको कोराना हटस्पट मानिएको नरैनापुर ३ मा शुक्रबार पुष्टि भएका १३ जना संक्रमितलाई भगाउने प्रयास असफल भएको हो । शुक्रबार राती ८ बजेतिर पछिल्लो पटक संक्रमण पुष्टि भएका व्यक्तिलाई लिन एम्बुलेन्स गाउँमा गएपछि स्थानीयले नेपालगन्ज लैजान नहुँन भन्दै अवरोध गरेका थिए । प्रहरीसहित गएको एम्बुलेन्सलाई स्थानीयले अवरोध गरेपछि नरैनापुर गाउँपालिका वडा नं. ३ स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय शंकरनगर कोटियाको क्वारेन्टाइनबाट संक्रमित भागेका थिए । १२ जना संक्रमितलाई राती नै नियन्त्रणमा लिएर नेपालगन्ज ल्याईसकिएपनि एक जनालाई भने शनिबार बिहान नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय भगवानपुरमा राखिएको प्रहरी निरिक्षक मानबहादुर बिसिले बताए । ‘यहाँबाट कोहीपनि भागेका छैनन, एकजना बाहिर रहेको व्यक्तिपनि हाम्रो नियन्त्रणमा छ’ उनले भने ‘उसलाई अहिले नेपालगन्ज पठाईदै छ ।’
संक्रमित व्यक्तिलाई नरैनापुरमै आईशोलसन बनाएर राख्नुपर्ने भन्दै करिव ५/६ सयको संख्यामा आएका स्थानीयले क्वारेन्टाईन घेराउ गरी संक्रमितलाई भगाउन खोजेको वडाअध्यक्ष राजकुमार मौर्यले बताए । ‘यहाँका मान्छेको बुझाईमा नेपालगन्ज लगेर दुखः दिन्छन भन्ने परेको छ’ उनले भने ‘लक्ष्मणपुर प्रथमिक स्वास्थ्य केन्द्रलाई आईसोलेसन बनाउँदा सहज हुने थियो ।’