मध्यपश्चिम स्रष्टा समाजको अध्यक्षमा विपी निर्वाचित
नेपालगन्ज : मध्यपश्चिम स्रष्टा समाज नेपालगन्जको अध्यक्षमा कवि तथा पत्रकार वीरेन्द्र जैसी (विपी अस्तु) निर्वाचित भएका छन् ।
समाजको शनिबार नेपालगन्जमा सम्पन्न पाँचौ साधारणसभाले अस्तुको नेतृत्वमा नौ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । समाजको सदस्यमा अस्मिता शाह, छत्रपति सिंह, निर्मल सुवेदी, विनोद देवकोटा, जयकेश सिंह, सावित्री गिरी, जहीरुल हक जीनु र भागवत पौडेललाई चयन गरेको निर्वाचन अधिकृत देवीदत्त देवकोटाले जानकारी दिए । समाजको विधानमा साधारणसभाले अध्यक्ष र सदस्यहरुको चयन गर्ने र पदाधिकारीको चयन अध्यक्षले निर्वाचित सदस्यहरुबाट गर्ने व्यवस्था छ ।
समाजका अध्यक्ष शुक्रऋषि चौलागाईंको अध्यक्षता र नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य डा. मधुसुदन गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा कथाकार सनत रेग्मी, लुम्बिनी प्राविधिक विश्वविद्यालयका सेवा आयोग सदस्य प्रा.डा.कृष्णप्रसाद घिमिरे, प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्यहरु महानन्द ढकाल र शशीराम कार्कीका साथै बाँके बर्दियाका साहित्यिक संस्थाका प्रतिनिधि एवं साहित्यकारहरुले सुभकामना दिएका थिए ।