छोराको स्मृतिमा समर हुम्लीले लेखेका यस्ता छन् हुम्ला चिनाउने ११ पुस्तक

लेखक : समर हुम्ली

नेपालगन्ज । माओवादीको १० वर्षे सशस्त्र द्वन्द्वमा जनमुक्ति सेना, जनमिलिसिया र सहयोद्धाको मृत्युपछि श्रद्धाञ्जली सभामा नेताले भन्थे शोकलाई शक्तिमा बदल्नुपर्छ । यो भनाइलाई व्यवहारमा उतार्न पक्कै सजिलो होइन । आफन्त गुमाउँदा अझ आफ्नै सन्तानको मृत्युको शोक कसरी शक्तिमा बदल्न सकिन्छ ? हुम्लामा शान्ति, सुशासन र सद्भावका लागि कलम चलाउने पत्रकार तथा लेखक कर्णबहादुर रोकाया ‘समर हुम्ली’ माइला छोरा पुष्कर रोकायाको मृत्युको पीडा (आँसु)लाई सिर्जना (शक्ति)मा बदलेर ११ वटा पुस्तक लेखेका छन ।

उनका छोरा पुष्करको ९ साउन २०७८ मा हृदयघातबाट निधन भएको थियो । छोरा वियोगको असैह्य पीडालाई पनि दमन गर्नुपर्ने अवस्थाको उपज हो, स्वर्गीय पुष्कर रोकायाको स्मृति विशेष ९समर हुम्लीका हुम्लाको विविधतालाई झल्काउने ११ पुस्तकको संग्रह ।

पुष्कर फाउण्डेसनको सहयोगार्थ कचहरी मिडिया हाउसले पुस्तक प्रकाशन गरेको पुस्तक समाज अध्ययन, राजनीति, कृषि, संस्कृति, सामाजिक, स्थान परिचय, समसामयिक, स्वास्थ्य, लोकसाहित्य, आर्थिक र ग्रामीण खोजका विषयमा रहेका छन् ।

मुटुको उपचार गराउन एक वर्षदेखि काठमाडौंमा रहेका बेला डिप्रेसनबाट मुक्त हुन उनले पुस्तक लेखेका हुन् । ‘हुम्लालाई चिन्न र चिनाउने कामका सानो प्रयास हो’, उनी भन्छन्, ‘पुस्तक हिमाली जिल्ला हुम्ला जान्न, बुझ्न र अध्ययन गर्ने चाहनेहरुका उपयोगी खुराक हुन्छ ।’
हुम्लाको शान्ति पत्रकारिता, प्राकृतिक, सांस्कृतिक, सामाजिक, लोकसाहित्य तथा विकासका विविध आयामहरुका बारेमा लेखिएका खोजमूलक आलेखहरुको संग्रहलाई स्मार्ट साइजको पुस्तक प्रकाशित गरेका छन् ।


‘छोराको पीडाले मुटुको व्यथा दिएर गयो । रोगले थलिएको कठिन अवस्थामा आफूूलाई सम्हाल्दै अक्षरको खेतीलाई पीडाबाट मुक्त हुने माध्यमको रुपमा स्वर्गीय पुष्कर रोकायाको दोस्रो वार्षिक स्मृतिमा स्मृति विशेषका रुपमा प्रकाशन गरिएको हो’, उनले प्रस्ट पारे । छोराको स्मृतिमा प्रकाशित पुस्तक बिक्रीबाट आएको रकमलाई अक्षय कोषको रुपमा स्थापना गरी त्यसबाट आएको ब्याजले सिर्जनशील सामाजिक काममा प्रयोग गरिने उनी बताउँछन् । ११ वटा पुस्तकको संग्रहको मूल्य दुई हजार रुपैयाँ मात्र रहेको छ ।
नेपाल पत्रकार महासंघका हुम्लाका संस्थापक सदस्यदेखि सचिव हुँदै अध्यक्ष समेत भइसकेका पत्रकार रोकाया साहित्य क्षेत्रमा समर हुम्ली नामले परिचित छन् । २०६६ सालमा हुम्लाको उत्तरी क्षेत्र लिमीका बारेमा स्थलगत रुपमा अध्ययन गरेर प्रकाशित गरिएको पुस्तक शब्दार्थभित्र सिमकोट लिमी यात्रा पहिलो पुस्तक हो । रोकायाका पुस्तक प्रकाशनको संख्या १२ पुगेको छ । रोकायाका एकसाथ प्रकाशित पुस्तक यस्ता छन् ः

जुनकिरीको उज्यालो
समाज अध्ययनमा केन्द्रीत यो पुस्तकमा हुम्लामा २०४६ पछि खुला रुपमा नेपाल (विशेष गरी काठमाडौंसँग जोडिन पुग्यो । त्यसले गर्दा कतिपय नराम्रा कुराहरुले प्रवेश पाए पनि धेरै सकारात्मक परिवर्तन भएको छ । त्यसलाई लेखाजोखा गर्ने समाज अध्ययनको एक सानो प्रयास हो । यसमा ११ वटा खोजमूलक रचनाहरु रहेका छन् । समष्टिगत रुपमा बहुदलपछिको हुम्लालाई चिन्न र चिनाउनमा यो एक उल्लेख्य दस्तावेज बनेको छ ।

गणतन्त्रमा हुम्ला
नेपालको राजनीतिक आन्दोलनमा सशस्त्र संघर्षमा हुम्लाको सहभागीतामा पक्ष र प्रतिपक्षको अलवा बीचमा चेपुवामा पर्ने वर्गले द्वन्द्व न्यूनीकरण लागि गरेका र गरिएका प्रयासहरूको सानो तर हुम्लो राजनीतिक इतिहासलाई चिनाउने पहिलो लेख्य सामग्री हो गणतन्त्रमा हुम्ला । यसमा पाँच अध्याय रहेको छ भने करीब पाँच दर्जन आलेख छन् । पुस्तकमा माओवादी सशस्त्र संघर्षदेखि संविधान सभासम्मको जानकारी समेटिएको छ ।

हुम्लाका मुख्य अन्न
हुम्ला कृषि विविधताको सघन क्षेत्र हो । यसैले पनि यहाँ विभिन्न प्रकारका विशेषता बोकेको अन्नबालीहरूमा फापर, चिनु, उवा, कागुनो, मार्से, कोदो, जौ, आलु, गहुँँ र मार्सीधान सम्बन्धी ११ वटा आलेख रहेका छन् । ऋणात्मक यात्रातिर हुम्लाको खाद्य वासलात गरी एक दर्जन आलेखहरू समेटिएको छन् । यो पुस्तकले हुम्लाको कृषि विविधताको बारेमा जानकारी दिनेछ ।

हुम्लाका चाडपर्व
पुस्तकमा हुम्लाका महत्वपूर्ण चाडपर्वहरूका बारेमा उल्लेख छ । यसमा आठ वटा आलेखहरू समावेश गरिएका छन् । यसमा साउने पूर्णिमा, चैतलो, श्रीपञ्चमी, दशैँतिहार, भुओऔंसी, चोख्या, माने जस्ता स्थानीय पर्वहरूको बारेमा उल्लेख गरिएको छ ।

हुम्लाको पाइतो
पुस्तकमा हुम्ला जिल्लाका विभिन्न स्थानहरू जसले स्थानीय स्तरमा सामाजिक, आर्थिक, सांस्कृतिक, जैविक, प्राकृतिक, पर्यकीय, शैक्षिक, सामरिक, प्रशासनीक तथा अन्य विभिन्न प्रकारका सम्पदाहरूको बारेमा जानकारी दिइएको छ । यसले हुम्लाको समष्टिगत रुपमा जानकारी दिनेछ । यसले हुम्लाको सामाजिक सन्दर्भलाई जानकारी दिने एक दर्जनभन्दा धेरै आलेखहरू समावेश गरिएका छन् ।

नारा चंखेली
पुस्तकले हुम्लामा विभिन्न समयमा विभिन्न प्रकारका महत्व बोेकेका तर ओझेलमा परेका गाउँ ठाउँ वरपर छरिएर रहेका स्थानहरूको रैथानेज्ञानको बारेमा जानकारी दिने खोजमूलक कृति हो । यसमा पाँच दर्जन गाउँठाउँको जानकारी छ ।

ॐ मरुत्
हुम्ला र हुम्लीको बारेमा चिनाउने खोजमूलक कृति हो ॐ मरुत् । यसले हुम्लाको बारेमा प्रकाशमा नआएका विविध प्रकारका कुराहरूको जानकारी दिनेछ । यसमा आधा दर्जन आलेखहरू समावेश गरिएका छन् ।

कोभिड–१९मा हुम्ला
विश्वव्यापी रुपमा आएको कोरोना महामारी र त्यसको रोकथाम तथा बचाउका लागि गरिएको प्रयासको दस्ताबेज हो कोभिड–१९मा हुम्ला । यसमा चार दर्जनभन्दा धेरै सामाग्रीहरू समावेश गरिएका छन् । जुनसुकै काममा सामूहिक सहभागी नै उत्कृष्ट काम हो भन्ने स्वास्थ्य क्षेत्रको नमुना हो यो पुस्तक ।

हिउँ लोकसुसेली
हुम्ला लोकसाहित्यको बृहद भण्डार हो । यसैले पनि यहाँको लोकसाहित्यको एक मुख्य र मौलिक विधा हो हिउँ । यहाँ हिउँसँग सम्बन्धी विशिष्टीकृत लोक भाकालाई संकलन गरेर खोजमूलक रुपमा तयार गरिएको दस्तावेज हो ।

अङ्कमा हुम्ला
यो हुम्लाको बारेमा आर्थिक आँखाबाट विश्लेषण गरिएको समाचारहरूको संकलन हो । यसमा उल्लेख गरिएका जानकारीहरूले कुन आर्थिक वर्ष र कुन सन्दर्भमा हुम्लामा के कति बजेट उपलब्ध भयो । यसको उपयोग र प्रयोग के कसरी भएको छ सोको बारेमा जानकारी दिने आलेखहरूको संग्रह हो ।

स्थलगत लिमी
हुम्लाभित्रको पनि हुम्लाको रुपमा परिचय बनाएको नेपालको जैविक, सांस्कृतिक तथा प्राकृतिक रुपमा खुला विद्यालयको रुपमा परिचित लिमीको बारेमा स्थलगत रुपमा अध्ययन गरिएको जानकारीहरूको खोजमूलक संकलन हो स्थलगत लिमी पुस्तक ।

पत्रकारितामा कर्णबहादुर रोकाया र साहित्यमा समर हुम्लीको नामले कलम चलाउने रोकाया ग्रामीण पत्रकारिता र आञ्चलिक साहित्यमा सक्रिय छन् । उनी हुम्लाका बरिष्ठ पत्रकार हुन् । रोकायाको पत्रकारिता यात्रा हिमाली मुस्कान पत्रिकाबाट सुरु भएको हो । २०५६ सालमा दर्ता भएको यो पत्रिका सम्भवतः साबिकको कर्णाली अञ्चलमै पहिलो दर्ता भएको पत्रिका हो । उनी हुम्लाबाट प्रकाशन हुने विभिन्न पत्रिकाहरू हाम्रो हिमाली मुस्कान, कचहरी दैनिक, ३६५ टुडे अद्र्ध साप्ताहिक, हुम्लीश्री मासिक लगायतका पत्रिकाहरुमा आवद्ध भएका छन् । उनले कचहरी मिडिया हाउस मार्फत हुम्लाको पहिलो अफसेट प्रेसका पनि सञ्चालक गरेर केही समय कचहरी दैनिक पत्रिका समेत प्रकाशन गरेका थिए । हाल यो दैनिक पत्रिका बन्द भएको छ । यसका अलवा कचहरी डट कम र कनकपत्र डट कमका पनि सञ्चालक हुन् । यसका साथै स्थानीयदेखि राष्ट्रियस्तरका विभिन्न पत्रपत्रिका र मिडियासँग आवद्ध रहँदै आएका छन् । हुम्लामा सक्रिय पत्रकार, साहित्यकार, सहजकर्ता, सामाजिक अभिन्ताका रुपमा नेपाल पत्रकार महासंघ, नेपाल रेडक्रस सोसाइटी, गैसस महासंघ, सामुदायिक उपभोक्ता महासंघ, नेपाल पर्माकल्चर संघ लगायतका विभिन्न संघसंस्थामा आवद्ध भएका छन् । ग्रामीण पत्रकारितालाई माध्यम बनाएर प्रशिक्षक, सामाजिक खोजकर्ता, द्वन्द्व न्यूनिकरण, रुपान्तरण तथा सहजीकरणमा समेत सक्रिय रहँदै आएका छन् ।

.