नरैनापुर निषेधित क्षेत्र घोषणा, सेना परिचालन
नेपालगन्ज: कोरोना भाइरसको उच्च जोखिममा रहेको बाँकेको नरैनापुर गाउँपालिकालाई निषेधित क्षेत्र घोषणा गरिएको छ । समुदायस्तरसम्म कोरोना संक्रमण फैलिनवाट रोक्न गाउँपालिकालाई आज राती ८ बजे देखि लागुहुने गरी जिल्ला सुरक्षा समितिको बैठकले निषेधित क्षेत्र घोषणा गरेको हो । आज जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्लास्थित सुरक्षा समितिको बैठकले कोरोना संक्रमण तिब्र रुपमा बढ्दै गएपछि लकडाउनलाई प्रभावकारी बनाई संक्रमण फैलिन नदिन आज (आईतबार) राती ८ बजेदेखि अर्को निर्णय नभएसम्मका लागि निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरिएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले बताए ।
त्यस्तै बैठकले नरैनापुरको संक्रमित क्षेत्रमा सेना परिचालन गर्ने निर्णय समेत गरेको छ । पछिल्लो समय संक्रमित व्यक्तिहरुलाई आईसोलेसनमा पठाउन लाग्दा स्थानीयले अवरोध गरी संक्रमणको जोखिम झन बढन थालेपछि सेना परिचालन गरी लकडाउनमा कडाई गरिने भएको हो । अहिले सो क्षेत्रमा नेपाली सेनाको टोली प्रस्थान गर्ने तयारीमा रहेको छ । संक्रणको दर दिनप्रतिदिन बढ्दै गएपछि संक्रमित क्षेत्र नरैनापुरमा चिकित्सक सहित स्वास्थ्यकर्मीको टोली जाने तयारीमा रहेको बताईएको छ ।