साहित्यिक विश्व सम्मेलनमा बाँकेका स्रष्टा घिमिरे, जिज्ञासु र प्याकुरेललाई सम्मान

नेपालगन्ज : बाँकेका तीन स्रष्टालाई काठमाडौंमा सम्मान गरिएको छ ।
काठमाडौँमा सञ्चालित तेस्रो बृहत् साहित्यिक विश्व सम्मेलन–२०८१ मा शनिबार बाँकेमा रहेर भाषा र साहित्य क्षेत्रमा क्रियाशील श्रष्टाहरु प्राध्यापक डाक्टर कृष्णप्रसाद घिमिरे, लेकप्रसाद प्याकुरेल र कल्पना पौडेल ‘जिज्ञासु’लाई सम्मान गरिएको होे ।
घिमिरेलाई नेपाली साहित्यदूत मकालु २०८० सम्मान, समालोचक प्याकुरेललाई नेपालभित्र रहेका प्रदेशहरूबाट उत्कृष्ट प्रदेश अध्यक्ष सम्मान र कल्पना पौडेल “जिज्ञासु” विनेसाम उत्कृष्ट शाखा अध्यक्षका रुपमा सम्मान गरिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली र विश्व नेपाली साहित्य महासंघ केन्द्रीय समितिका अध्यक्ष सुरेन्द्र लिम्बु परदेशीले विश्वका १४ जना साहित्य साधकलाई सम्मान गर्दा बाँकेका तीन जना परेका हुन् । भारत, थाइल्याण्ड, जापान, चीन, रसिया लगायत विश्वका दुई दर्जन बढी देशहरूका अग्र साहित्यकारहरूको सहभागिता रहेको उक्त तेस्रो बृहत् साहित्यिक विश्व सम्मेलनमा बाँके जिल्लाका चार वटासहित १४ वटा नेपाली भाषा र साहित्य सम्बन्धी कृतिहरूको विमोचन गरिएको थियो ।
प्रधानमन्त्री ओलीले बाँकेका कल्पना पौडेल “जिज्ञासु”को कल्प ध्वनि लघुकथा संग्रह, लेकप्रसाद प्याकुरेलको बाँकेका महिला स्रष्टा र सिर्जना समालोचना संग्रह, गीता अर्यालको विषाक्त समय मुक्तक संग्रह, इन्दिरा गौतमको इन्दु कवितासंग्रह, विनेसाम नेपाल शाखाद्वारा तयार पारिएको नेपाल दर्पण, विश्व नेपाली साहित्य महासंघ लुम्बिनी प्रदेश समितिद्वारा प्रकाशित भएको लुम्बिनी दर्पण र विनेसाम कर्णाली प्रदेशद्वारा प्रकाशित भएको कर्णाली दर्पण लगायत एक दर्जन बढी कृतिहरूको विमोचन गरेका थिए । भारत सिक्किमका पूर्वमुख्यमन्त्री चाम्लिङ प्राध्यापक डाक्टर गोविन्दप्रसाद भट्टराई, आयामेली कवि बैरागी काइँला लगायतको उपस्थिति रहेको थियो ।