कर्णाली नदीमा मृत पोथी पाटेबाघ फेला
मानबहादुर ठकुल्ला । टीकापुर
कर्णाली नदीमा डुबेर पोथी पाटेबाघको मृत्यु भएको छ ।
बर्दियाको राजापुर नगरपालिका र कैलालीको टीकापुर नगरपालिका भएर बग्ने कर्णाली नदीमा बगिरहेको अवस्थामा मृत पाटे बाघको बच्च फेला परेको छ हो। सोमबार दिउसो करिब साढे ३ बजेतिर बर्दियापट्टिको छेउमा दाहसंस्कारका लागि आएका मलामीहरुले मृत पाटेबाघ नदीमा बगिरहेको देखे पछि नजिकै कर्णाली पुलमा ड्यूटीमा खटिएका प्रहरीलाई खबर गरेका थिए । प्रहरी , शसस्त्र प्रहरी र मलामीको टोलीले नदीमा मृत अवस्थामा बगिरहेको पाटेबाघलाइ निकालेको इलाका प्रहरी कार्यालय राजापुरले जनाएको छ ।
नदीमा बगिरहेको मृत पाटेबाघलाई ठाकुरबाबास्थित बर्दिया राष्ट्रिय निकुञ्जको टोली, बन्जरिया रेन्जपोष्टको टोली, वनको टोलीसहित नेपाल प्रहरी शसस्त्र प्रहरी, नेपाली सेना सहितको रोहवरमा मुचुल्का उठाइ थप अनुसन्धानका लागि ठाकुरबाबास्थित बर्दिया राष्ट्रिय निकुञ्जको कार्यालयमा लिएको छ । मृत भेटिएको पाटेबाघ एक वर्षभन्दा कम उमेरको भएको ठाकुर बाबा स्थित बर्दिया राष्ट्रिय निकुञ्ज प्रमुख डा. अशोककुमार रामले जानकारी दिनु भएको छ । बर्दियास्थित बन्जरिया रेन्जपोष्टका सेनानी युवराज श्रेष्ठका अनुसार मृत पोथी बाघको टाउकोदेखि पुच्छरसम्मको लम्बाई १३५ सेन्टिमिटर,घाँटीको मोटाइ ३० सेन्टिमिटर र कम्मरको मोटाइ ६५ सेन्टिमिटर रहेको बताए ।