कर्मचारी व्यवस्थापन नगरी नेपालगन्ज मेडिकल कलेज बोर्ड परिवर्तनबाट हुन्छ त सञ्जीवनी कलेज ?

नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जको साइन बोर्ड रातारात परिवर्तन गरी सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस प्रा.लि. राखिएको राखिएकोे छ ।
तीन सातादेखि तलब बृद्धि लगायतका माग गर्दै आन्दोलनरत कर्मचारी आन्दोलनलाई बेवास्ता गर्दै सोमबार राति एकाएक अस्पतालको वोर्ड परिवर्तन गरिएको हो ।
कलेज प्रशासनले विभिन्न विभागमा गरेर ८ सय ९५ जनाको विज्ञापन गरेको छ ।
नयाँ बोर्ड झुण्ड्याउने र नयाँ कर्मचारीको आवश्यकता सम्बन्धी विज्ञापन प्रकाशित गरेर आन्दोलनरत कर्मचारीलाई छोरी कुटेर बुहारी तर्साउने खोजेको संज्ञा दिन थालिएको छ ।
व्यवस्थापनले कम्पनीको नाम र काम परिवर्तन कसरी भयो भन्ने जानकारी नयाँ कर्मचारीको आवश्यकता सम्बन्धी विज्ञापनमा उल्लेख गरेको छ । सीटिईभीटीका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस प्रालि बुटवलले र नेपालगन्ज हस्पिटल एण्ड रिसर्च ट्रेनिङ सेन्टर प्रालि नेपालगन्ज, बाँकेसँग १० साउन २०८१ देखि कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति प्राप्त गरी मर्ज भएको र सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस प्रालि नेपालगन्ज नाममा स्थानान्तरण गरी वीपी चोक, नेपालगन्जमा ३०० शैयाको अस्पतालसहित कलेज सञ्चालनमा ल्याएको जनाइएको छ ।
कार्यरत कर्मचारीको उचित व्यवस्थापन नै नगरेर, चालु अवस्थामा रहेको स्वास्थ्य संस्थाको कसरी एकाएक नाम परिवर्तन हुनसक्छ ? व्यवस्थापनको नियतमा कर्मचारीले शंका गरिरहेका छन् । व्यवस्थापनले शिक्षण अस्पताल लेखेका बोर्ड हटाएको छ भने कति नाम छोपेर पनि राखेको छ ।