गोपाल-नीना फाउण्डेसनद्वारा बाल दिवसमा शैक्षिक र खेलकुद सामग्री वितरण

नेपालगन्ज : गोपाल-नीना फाउण्डेशन नेपालगन्जले नीलसागर सेवा आश्रममा आश्रित बावबालिकाहरुलाई पेन्टिङ र खेल सामग्री वितरण गरेको छ ।
६२ औं अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रममा आश्रित बालबालिकालाई उक्त सामाग्री र आश्रित सबैलाई बिहानको खाना पनि खुवाइएको हो ।
गोपाल–नीना फाउण्डेशनका सहनिर्देशक डा. तृप्तीपाल रमणका अनुसार आश्रममा आश्रित अभिभावकविहीन, आफन्त गुमाएका सहाराविहीन ७८ जना बालबालिकाहरुलाई पेन्टिङ र खेल सामाग्री वितरण गरिएको हो । डा. रमणले भन्छिन्, बाल दिवसकै अवसरमा गत वर्ष उक्त कार्यक्रम लगायत बालबालिकाहरुलाई निःशुल्क स्वास्थ्य परीक्षण औषधि वितरण तथा स्वास्थ्य परामर्श सेवा पनि प्रदान गरिएको थियो ।

फाउण्डेसनका संस्थापक अध्यक्ष वरिष्ठ पेट रोग विशेषज्ञ डा. गौरव श्रेष्ठका अनुसार सोही अवसरमा आश्रममा आश्रित २५४ जनालाई बिहानको खाना पनि खुवाइएको थियो भने सबै बालबालिकाहरुलाई स्टेशनरीको किट र हाइजिन किट पनि वितरण गरिएको थियो । प्रसिद्ध स्त्रीरोग विशेषज्ञ डा. नीना श्रेष्ठ, फाउण्डेसनका संस्थापक अध्यक्ष डा. गौरव श्रेष्ठ र आयोजक टिमका अन्य अतिथिहरुले खाना खुवाएका थिए ।
सो अवसरमा फाउन्डेसनका शुभचिन्तक वरिष्ठ पत्रकार पूर्णलाल चुकेले २०७९ सालमा स्थापना भएको गोपाल–नीना फाउण्डेशन, नेपालले स्थापना कालदेखि नै विभिन्न किसिमका सामाजिक, मानवीय तथा स्वास्थ्य सेवा सम्बन्धि कार्यक्रमहरु आयोजना गर्दै आएको चर्चा गरेका थिए । वरिष्ठ पत्रकार चुकेले भने, पश्चिम नेपालका सुप्रसिद्ध वरिष्ठ फिजीसियन डा. गोपालप्रसाद श्रेष्ठ र प्रसिद्ध स्त्रीरोग विशेषज्ञ डा. नीना श्रेष्ठको नाममा उहाँका सुपुत्र वरिष्ठ पेटरोग विशेषज्ञ डा. गौरव श्रेष्ठको अध्यक्षतामा स्थापित उक्त फाउण्डेसनले विभिन्न सामाजिक गतिविधि तथा स्वास्थ्य सेवा सम्बन्धि कार्यक्रमहरु लगायत स्थानीय जनमत अर्धसाप्ताहिकद्वारा विगत २० वर्षदेखि सञ्चालन गर्दै आएको त्रैमासिक रक्तदान कार्यक्रममा गत वर्षदेखि सहकार्य गरेर महत्वपूर्ण मानवीय योगदान दिंदै आएको छ । नेपालगन्ज–१० निवासी वरिष्ठ चिकित्सक श्रेष्ठ दम्पत्ति २०३९ सालदेखि नेपालगन्जमा चिकित्सा सेवामा कार्यरत छन् ।
कार्यक्रमको सहजीकरण गर्दै नीलसागर आश्रमकी संस्थापक अध्यक्ष सरिता खनालले स्वगत मन्तव्य राख्दै २०७३ स्थापना भएको संस्था बाँके जिल्लामा अहिले बुवाआमा र अनाथ बालबालिकाहरु २५४ जना आश्रित रहेको स्थानीय सरकार बाहेक कतैबाट कुनै सहयोग नभएको जनताको सहयोगबाट सञ्चालन भइरहेको जानकारी दिइन् । आश्रमको भवन निर्माणाधीन छ ।
सो कार्यक्रममा फाउण्डेसनका कार्यालय प्रमुख दिलिप गिरी, फाउण्डेशनका रिसर्च अफिसरद्वय प्रतिभा पौडेल र अनुप आर्या, अन्नपूर्ण ग्याष्ट्रो केयर अस्पतालका कर्मचारीहरु दक्षिणा क्षेत्री, रोशनी रानामगर, पवित्रा थापामगर लगायतले सक्रिय भूमिका निर्वाह गरेका थिए ।