नेपालगन्जकी दीपाली र दाङकी हिसिला देशभरबाट उत्कृष्ट २० उद्यमीमा छनोट


नेपालगन्ज
: लुुम्बिनी प्रदेशको बाँके र दाङका युवा उद्यमीद्वय दीपाली टण्डन र हिसिला ओली देशभरका २०० भन्दा बढी उद्यमीमध्ये उत्कृष्ट २० मा छनोट हुनु भएको छ ।
नेपालस्थित अमेरिकी दूतावासको सहयोगमा सञ्चालित ‘यूएस एम्बेसी इन्टरप्रेनरशिप स्किल डेभलपमेन्ट प्रोग्राम–क्यापस्टोन एक्सेलेरेटर’ अन्तर्गत देशका प्रमुख सहर नेपालगन्ज, धनगढी, विराटनगर, जनकपुर, हेटौंडा, भैरहवा र पोखरामा सञ्चालित क्षेत्रीय उद्यमशीलता कार्यशालामा सहभागिता जनाएका २०० जना उद्यमीमध्ये टण्डन र ओली उत्कृष्ट उद्यमीमा चयन हुनु भएको हो ।
टण्डनले दीपलीज अचार एन्ड मसला कम्पनीमार्फत २० भन्दा बढी प्रकारका अचार र मसलाका उत्पादन बजारमा ल्याउनु भएको छ । टण्डनले स्थानीय स्वाद र खाद्य परम्परालाई आधुनिक उत्पादन, प्याकेजिङ तथा ब्रान्डिङसँग जोडेर नेपालभर तथा अन्तर्राष्ट्रिय बजारसम्म पु‍र्‍याउने लक्ष्य राख्नु भएको छ । उत्कृष्ट उद्यमीमा परेपछि मेरोखुसीसँगको मोबाइल सम्पर्कमा टण्डनले देशभरीका उत्कृष्ट उद्यमीसहित काठमाडौंमा आयोजित तीनदिने आवासीय क्यापस्टोन एक्सेलेरेटर तालिमपछि काठमाडौंमा साझेदारीमा व्यापार विस्तार गर्ने योजना बनेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘दुई तीन जना साझेदार पाएकी छु । काठमाडौंको सबैलाई पायक पर्ने स्थानमा हाम्रो बिक्रीकक्ष राख्नेछौं ।’
तालिमका क्रममा खाद्य प्रशोधन तथा प्राकृतिक मसला उत्पादन क्षेत्रमा सक्रिय टण्डनले कार्यक्रममा आफ्नो व्यावसायिक यात्रा, उत्पादनको विशेषता, ब्रान्ड निर्माण, बजार विस्तार, लगानी तयारी, निर्यात सम्भावना तथा भावी योजनाबारे प्रस्तुति दिनु भएको थियो । स्थानीय स्वाद र उत्पादनलाई फराकिलो बजारसम्म पु‍र्‍याउने आफ्नो योजनाले राष्ट्रिय मञ्चमा प्रतिनिधित्व गरेको उहाँ बताउनुहुन्छ ।
तालिमका क्रममा दीपलीले उत्पादन गरेका अचार र मसलालाई प्रदर्शन गर्ने अवसर पनि पाउनु भएको थियो । उहाँको उत्पादनबाट दुई दिनको लन्च र डिनरका विभिन्न परिकारसमेत तयार गरिएको थियो । यसले सहभागीहरूलाई उहाँको उत्पादन प्रत्यक्ष रूपमा अनुभव गर्ने अवसर दिएको थियो ।

त्यसैगरी युनिक दिदीबहिनी अल्लो उद्योग दाङकी सह–संस्थापक ओलीले अल्लो तथा प्राकृतिक रेसालाई आधुनिक कपडा र हस्तकलाका उत्पादन गरिरहनु भएको छ ।
दाङको अल्लो उद्योगलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने लक्ष्य उहाँको छ ।
उद्योगले दिदीबहिनी फेब्रिक ब्रान्डमार्फत अल्लो तथा हेम्पजस्ता प्राकृतिक रेसाबाट कपडा, पोशाक तथा विभिन्न हस्तकलाका सामग्री उत्पादन गर्दै आएको छ।
स्थानीय स्रोत, परम्परागत सीप र आधुनिक बजारलाई जोड्ने प्रयास गरिरहेको उद्योगले नेपालको प्राकृतिक रेसामा आधारित उत्पादनको मूल्य शृङ्खला सुदृढ गर्नुका साथै हस्तकलामा आधारित रोजगारी सिर्जनामा समेत योगदान पुर्‍याइरहेको छ।
राष्ट्रिय महिला उद्यमी पुरस्कार २०८३ प्राप्त यस उद्यमले अहिले उत्पादन क्षमता विस्तार, आधुनिक प्रविधिको प्रयोग, ब्रान्ड विकास तथा अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्ने तयारी गरिरहेको छ। साथै महिला हस्तकलाकर्मीलाई उत्पादन प्रक्रियासँग जोड्दै समावेशी रोजगारी सिर्जना गर्ने लक्ष्यसमेत राखेको छ।
व्यवसाय व्यवस्थापनमा स्नातकोत्तर तथा मार्केटिङमा स्नातक गरेकी ओलीसँग पाँच वर्षको मार्केटिङ व्यवस्थापन अनुभव छ। उहाँले यही अनुभवलाई स्थानीय सीप र प्राकृतिक रेसामा आधारित उत्पादनको ब्रान्डिङ तथा बजार विस्तारमा प्रयोग गर्दै आउनु भएको छ ।
काठमाडौंमा आयोजित क्यापस्टोनमा ओलीले दाङमा आधारित आफ्नो उद्यमलाई कसरी थप विस्तार गर्ने, नेपाली प्राकृतिक रेसाबाट बनेका उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा कसरी पुर्‍याउने, आधुनिक प्रविधि र एआईलाई व्यवसायमा कसरी प्रयोग गर्ने तथा थप रोजगारी कसरी सिर्जना गर्ने भन्ने विषयमा उहाँले व्यावसायिक योजना प्रस्तुत गर्नु भएको थियो ।
अन्तरक्रियात्मक मास्टरक्लास, मेन्टरिङ, सहकर्मीबीच सिकाइ तथा पिच कोचिङमार्फत सहभागीहरूले आफ्ना व्यावसायिक रणनीति थप परिष्कृत गरेका थिए। यसअघि क्षेत्रीय कार्यशालापछि कानुनी अनुपालन, निर्यात तयारी, एआईमा आधारित व्यवसाय विस्तार तथा डिजिटल मार्केटिङसम्बन्धी भर्चुअल मास्टरक्लाससमेत सञ्चालन गरिएको थियो।
कार्यक्रमको अन्तिम दिन आयोजना गरिएको ‘लगानी तथा विश्व बजार केन्द्रित पिचिङ सत्र’ मा ओलीसहित २० उद्यमीले नेपालका प्रमुख लगानीकर्ता, उद्योगी, उद्यमशीलता क्षेत्रका साझेदार तथा विज्ञहरूसमक्ष आफ्ना व्यवसाय र भावी योजना प्रस्तुत गरेका थिए।
ओलीले अल्लो तथा प्राकृतिक रेसामा आधारित नेपाली उत्पादनको बजार सम्भावना, उत्पादन विस्तार, महिला रोजगारी, ब्रान्ड विकास तथा अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्ने आफ्नो योजना प्रस्तुत गर्नु भएको थियो ।
पिचिङ सत्रमा सहभागी उद्यमीहरूले आफ्नो व्यवसायको सम्भावना, नवप्रवर्तन, बजार अवसर, विस्तार क्षमता, निर्यात सम्भावना तथा लगानी आकर्षित गर्ने रणनीतिबारे प्रस्तुति दिएका थिए। उनीहरूले विज्ञहरूबाट व्यवसायलाई थप प्रतिस्पर्धी, लगानीयोग्य र अन्तर्राष्ट्रिय बजारका लागि तयार बनाउन व्यावहारिक सुझावसमेत प्राप्त गरेका थिए।
‘क्यापस्टोन मेन स्ट्रीट शोकेस’ मा दाङको अल्लो उत्पादन
ओलीले ‘क्यापस्टोन मेन स्ट्रीट शोकेस’मा दिदीबहिनी फेब्रिकका उत्पादनसमेत प्रदर्शन गरिएको थियो । यसमार्फत दाङमा उत्पादन भइरहेका प्राकृतिक रेसामा आधारित नेपाली उत्पादनलाई राष्ट्रिय स्तरका उद्योगी, लगानीकर्ता तथा व्यावसायिक नेतृत्वसमक्ष चिनाउने अवसर प्राप्त भएको थियो।
अमेरिकी ‘मेन स्ट्रीट’ अवधारणाबाट प्रेरित उक्त प्रदर्शनीले उद्यमीहरूलाई लगानीकर्ता, उद्योगी, एमच्याम नेपाल तथा अन्य अमेरिकी व्यवसायिक नेतृत्वसँग प्रत्यक्ष संवाद र नेटवर्किङ गर्ने अवसर प्रदान गरेको थियो।
प्रत्यक्ष प्रदर्शन र अन्तरक्रियामार्फत सहभागीहरूले आफ्ना उत्पादन तथा सेवाबारे बजार प्रतिक्रिया प्राप्त गर्नुका साथै नयाँ व्यावसायिक सम्बन्ध र सहकार्यका सम्भावनासमेत खोजेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै अमेरिकी दूतावास नेपालका पब्लिक अफेयर्स चीफ माइक हार्करले भन्नुभयो, “आजको क्यापस्टोन शोकेस एउटा कार्यक्रमको समापन मात्र होइन, अमेरिका र नेपालबीचको बलियो आर्थिक साझेदारीको महत्वपूर्ण उदाहरण पनि हो। नवीन सोच भएका नेपाली उद्यमीहरूमा लगानी गर्दै, नवप्रवर्तनलाई प्रोत्साहन गर्दै तथा उद्यमी, उद्योग र लगानीकर्ताबीच सम्बन्ध विस्तार गरेर हामी आर्थिक कूटनीति र निजी क्षेत्रीय सहकार्यलाई थप सुदृढ बनाइरहेका छौं। नेपालको आर्थिक विकास र द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउने नयाँ पुस्ताका उद्यमीहरूलाई सहयोग गर्न पाउँदा हामी गर्व गर्छौं।”
देशभरका विविध क्षेत्रका उद्यमीको सहभागिता
क्यापस्टोन एक्सेलेरेटर अमेरिकी दूतावास नेपालको सहयोगमा सञ्चालित उद्यमशीलता सीप विकास कार्यक्रमको अन्तिम चरण हो। कार्यक्रम क्ष्लतभचलबतष्यलब िम्भखभयिऊभलत क्ष्लकतष्तगतभ ९क्ष्म्क्ष्० ले ब्बमथबलतब ब्मखष्कयचथ सँगको साझेदारीमा कार्यान्वयन गरेको हो।
क्यापस्टोनका लागि छनोट भएका २० उद्यमी कृषि तथा कृषि प्रशोधन, खाद्य तथा पेय पदार्थ, सूचना प्रविधि, उत्पादन, सिर्जनात्मक उद्योग, डिजिटल सेवा, प्राकृतिक उत्पादन, हस्तकला, सहकारी तथा सामाजिक उद्यमलगायत विविध क्षेत्रमा सक्रिय छन्।
कार्यक्रमबारे अमेरिकी दूतावासको उद्यमशीलता सीप विकास कार्यक्रमले नेपाली उद्यमीहरूलाई व्यावहारिक व्यावसायिक तालिम, मेन्टरिङ तथा बजारमुखी सिकाइमार्फत सक्षम बनाउने उद्देश्य राखेको छ।
क्षेत्रीय कार्यशाला, भर्चुअल मास्टरक्लास तथा क्यापस्टोन एक्सेलेरेटरमार्फत कार्यक्रमले उद्यमीहरूलाई आवश्यक सीप, व्यावसायिक सञ्जाल, अमेरिकी व्यावसायिक अभ्यासबारे ज्ञान तथा प्रतिस्पर्धी व्यवसाय निर्माण गर्ने क्षमता विकासमा सहयोग गरेको छ।
यो कार्यक्रम अमेरिकी दूतावास नेपालको सहयोगमा International Development Institute (IDI) ले Aadyanta Advisory सँगको साझेदारीमा सञ्चालन गरेको हो।