दैलेखी समाज बाँकेको नवनिर्वाचित कार्य समितिद्वारा सपथ र पदभार ग्रहण

नेपालगन्ज : दैलेखी समाज बाँकेको नवनिर्वाचित कार्य समितिको सपथ र पदभार ग्रहण भएको छ । समाजको गत १७ साउनमा सम्पन्न ८औं अधिवेशनले पूर्णदेव गिरीको नेतृत्वमा सर्वसम्मत् रुपमा निर्वाचित गरेको १६ सदस्यलाई निर्वाचन समितिका संयोजक बरिष्ठ अधिवक्ता श्याम गौतमले शनिबार नेपालगन्जमा पद तथा गोपनीयताको शपथ गराउनु भएको हो । कार्य समितिका अध्यक्ष, पदाधिकारी र सदस्यलाई माला र प्रमाण पत्र प्रदान गरेर कार्यभार पनि ग्रहण गरिएको थियो ।

कार्य समितिमा दोस्रो कार्यकालका लागि गिरी अध्यक्ष निर्वाचित हुनु भएको छ भने वरिष्ठ उपाध्यक्ष सुरेश थापा, उपाध्यक्ष पूर्णकुमारी थापा, सचिव गणेशबहादुर खड्का सह सचिव हिरामणि दाहाल र कोषाध्यक्ष शिवप्रसाद पाण्डेय चयन हुनु भएको छ । त्यसैगरी सदस्यहरुमा धर्मराज सुनार, इन्द्रबहादुर कार्की, विना थापा मगर, दीपक थापा, शंकरप्रसाद खनाल, विष्णुप्रसाद उपाध्याय, आशा लम्साल, देवबहादुर खड्का, पुष्कर सिजापती र प्रेमप्रकाश विसी निर्वाचित हुनु भएको छ ।

नवनिर्वाचित अध्यक्ष गिरीले जिल्लाका दैलेखी बस्तीहरु भएको स्थानहरुमा आजीवन सदस्य विस्तार गर्दै वडा स्तरमा पनि समिति गठन गर्ने घोषणा गर्नु भयो । समाजको आफ्नै भवन निर्माणका लागि अध्यक्ष गिरीले ५१ हजार १११ रुपैयाँ प्रदान गर्ने घोषणा पनि गर्नुभयो । समाजको आफ्नै जग्गा नभएकाले सुरुमा जग्गा खोजी गरेर भवन निर्माण कार्य अघि बढाइने उहाँले बताउनु भयो । अध्यक्षले सहयोग रकम घोषणा गरे लगत्तै कोहलपुर निवासी समाजसेवी कमला मल्लले पनि ५० हजार रुपैयाँ सहयोेग गर्ने घोषणा गर्नुभयो । अध्यक्ष गिरीले भवन निर्माणका लागि सहयोग गर्न सम्पूर्ण दाताहरुसँग आव्हान गर्नु भएको छ । समाजको शनिबार नै बसेको पहिलो कार्य समिति बैठकले आठौं अधिवेशन सम्पन्न सहयोग गर्ने अतिथिहरु र निर्वाचन समिति, प्रतिनिधि सबैलाई धन्यवाद दिएको छ ।