नागरिक सम्बन्ध बलियो बनाउन भाषिक पत्रकारिताको महत्वपूर्ण योगदान

समाचार सारांश
Generated by AI. Editorially reviewed.
  • हिन्दी भाषाको पहिलो पत्रिका कलकत्ताबाट सन् १८२६ मा पण्डित जुुगलकिशोर शुक्लले उदन्त मार्तण्ड साप्ताहिक प्रकाशित
  • नेपालमा प्रकाशित भएको हिन्दी भाषाको पहिलो पत्रिका तरङ्ग साप्ताहिक हो । १५ साउन २००८ सालमा भोजबहादुर सिंह न्यौपानेले प्रकाशित गर्नु भएको थियो । हिन्दी भाषाको पहिलो दैनिक पत्रिका ८ साउन २०१२ सालमा इन्द्रचन्द्र जैनको सम्पादनमा जय नेपाल प्रकाशित भएको थियो ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नानपारा (भारत) : नेपाल–भारतमा नागरिक स्तरमा सम्बन्ध बलियो बनाउन हिन्दी भाषाको पत्रकारिताले महत्वपूर्ण योगदान गरेको सीमावर्ती क्षेत्रका पत्रकारले ठहर गरेका छन् ।

भारतमा हिन्दी भाषाको पत्रकारिता सुरु भएको २०० वर्षको अवसरमा उत्तर प्रदेश राज्यको बहराइच जिल्लाको नानपारा सहरमा आइतबार आयोजना गरिएको भारत–नेपाल पत्रकार गोष्ठीका वक्ताहरुले दुबै देशका सीमावर्ती जिल्लाको सम्पर्क भाषा हिन्दी भएकाले नागरिक स्तरमा सम्बन्ध बलियो बनाउन भाषाको पत्रकारिताले महत्वपूर्ण योगदान गरेको बताएका हुन् ।
कार्यक्रममा उत्तर प्रदेशको नानपाराबाट निर्वाचित विधानसभा सदस्य रामनिवास वर्माले नेपाल र भारतबीचको ऐतिहासिक र सांस्कृतिक सम्बन्धलाई जोड दिँदै दुई देशबीचको ‘रोटीबेटी’ सम्बन्ध शताब्दीयौंदेखि चलिआएको बताउनु भयो । उहाँले अंग्रेज शासनकालदेखि आजसम्म समाजलाई सचेत गराउन र सही दिशा दिन पत्रकारिताले महत्वपूर्ण भूमिका खेलेको दाबी गर्नुभयो ।

सोही अवसरमा नेपाल भारत संयुक्त पत्रकार मञ्चका अध्यक्ष पूर्णलाल चुकेले भाषागत पत्रकारिताले नेपाल र भारतका नागरिकबीच बलियो पुलको काम गरेको जिकिर गर्नुभयो । कार्यक्रममा भारतीय पत्रकारहरु अशोक उपाध्याय, भागवत शुक्ला, अजय शर्मा, मणिराम शर्मा, परवेज रिजवी, सन्तोष शुक्ला, राजीव शुक्ला, ताहिर हुसेन लगायतले भाषाको पत्रकारिताले दुबै देशका सीमावर्ती समस्या समाधानमा पनि भूमिका खेलेको बताउनु भएको थियो । कार्यक्रममा भारतको बहराइच र श्रावस्ती जिल्लाका तीन दर्जन बढी पत्रकार र नेपालको बाँकेका आधा दर्जन पत्रकारहरु सहभागी हुनु भएको थियो ।
भारतमा पत्रिका प्रकाशित भएको ४६ वर्षपछि मात्र हिन्दी भाषाको पत्रिका प्रकाशित भएको थियो । सन् १७८० मा बेलायति नागरिक जेम्स अगस्टस हिक्कीले प्रकाशित गरेको बंगाल गजेट अंग्रेजी पत्रिका नै भारतमा प्रकाशित भएको पहिलो पत्रिका हो । यो नै दक्षिण एशियाकै पनि पहिलो पत्रिका हो । त्यहाँ हिन्दी भाषाको पहिलो पत्रिका कलकत्ताबाट सन् १८२६ मा पण्डित जुुगलकिशोर शुक्लले उदन्त मार्तण्ड साप्ताहिक प्रकाशित गर्नुभएको थियो ।

भारतमा पत्रकारिता सुरु भएको ११८ वर्षपछि मात्र वि.सं. १९५५ मा सुधासागर मासिक नेपालबाट प्रकाशित भएको थियो । नेपाली भाषाको पत्रिका प्रकाशित भएको ५५ वर्षपछि नेपालमा हिन्दी भाषाको पत्रिका प्रकाशित भएको देखिन्छ । नेपालमा प्रकाशित भएको हिन्दी भाषाको पहिलो पत्रिका तरङ्ग साप्ताहिक हो । १५ साउन २००८ सालमा भोजबहादुर सिंह न्यौपानेले प्रकाशित गर्नु भएको थियो । हिन्दी भाषाको पहिलो दैनिक पत्रिका ८ साउन २०१२ सालमा इन्द्रचन्द्र जैनको सम्पादनमा जय नेपाल प्रकाशित भएको थियो । भारतसँग सीमा जोडिएका तरार्ईका जिल्लाहरुमा भारतीय पत्रिकाको बिगबिगी रहेको बेला वीरगन्ज, नेपालगन्जलगायतका सहरबाट हिन्दी भाषाका पत्रिकाहरु प्रकाशित भएका छन् । सीमावर्ती क्षेत्रका रेडियोहरुले पनि हिन्दी भाषाका कार्यक्रम उत्पादन गर्छन् भने भारतीय रेडियोका हिन्दी कार्यक्रम नेपालमा लोकप्रिय छन् ।