बर्दियाको मधुवनमा जेसी र संरक्षण तालिम सम्पन्न

संजय आचार्य । मधुवन
बर्दियाको मधुवन नगरपालिका–१, पत्थरभोजीमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण र संरक्षण सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ।
बाँके युनेस्को क्लबको आयोजनामा प्लान इन्टरनेशल नेपाल सँगको साझेदारीमा किशोरी क्लब तथा युवा क्लबका सदस्यहरू जेसी परियोजना अन्तर्गत उक्त तालिम सञ्चालन गरिएको हो।
वैशाख १ ८ देखि १९ गतेसम्म चलेको तालिममा बढैयाताल गाउँपालिका, गुलरिया नगरपालिका र मधुवन नगरपालिकाका किशोरी क्लब तथा युवा क्लबका गरी ३३ जना सदस्यहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमको मुख्य उद्देश्य युवाहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुका साथै लिङ्ग, जातजाति, उमेर, अपाङ्गता र आर्थिक अवस्थाका आधारमा हुने विभेद न्यूनीकरण गर्नु रहेको थियो। विशेषगरी किशोरी तथा सीमान्तकृत समुदायलाई सशक्त बनाउँदै सुरक्षित र सम्मानजनक वातावरण निर्माण गर्ने लक्ष्य राखिएको थियो।

तालिममा सशक्त बालिका परियोजनाको अवधारणा, विभेदका कारण तथा समाधानका उपायहरूबारे विस्तृत छलफल गरिएको थियो। मुख्य सहजीकरण सहजकर्ता कृष्ण पाण्डेयले गर्नु भएको थियो । कार्यक्रमा बाँके युनेस्को क्लबका उपनिर्देशक गोविन्दप्रसाद लामिछानेले तालिमको उद्देश्य र महत्त्वबारे प्रकाश पार्नु भएको थियो । लामिछानेका अनुसार, समुदायमा रहेका विभेद, असमानता र नकारात्मक अभ्यासहरू न्यूनीकरण गर्न किशोरी तथा युवा क्लबका सदस्यहरूलाई लक्षित गरी जेसी र सेफगार्डिङ सम्बन्धी तालिम सञ्चालन गरिएको हो । उहाँले भन्नुभयो, तालिमले किशोरकिशोरीहरूको सशक्तिकरण, जनचेतना अभिवृद्धि, लागूपदार्थ दुर्व्यसन नियन्त्रण, तथा बालबालिकाको शिक्षा, स्वास्थ्य र संरक्षणमा सहयोग पुर्‍याउनेछ। स्थानीय सरकारका नीति तथा कार्यक्रममा युवा तथा बालबालिका सहभागिता बढाउँदै लैङ्गिक हिंसा न्यूनीकरण र सुरक्षित वातावरण निर्माणमा टेवा पुग्ने विश्वास गरिएको छ ।
त्यसैगरी, संस्थाका सुरक्षा परियोजनाका संयोजक ईश्वर विकले सेफगार्डिङ नीति, शारीरिक, मानसिक तथा यौन दुर्व्यवहारबाट संरक्षण, बालअधिकार, आचारसंहिता, गुनासो व्यवस्थापन प्रणाली, गोपनीयता तथा जोखिम व्यवस्थापन सम्बन्धी विषयमा जानकारी दिनु भएको थियो ।
कार्यक्रमलाई प्रभावकारी बनाउन समूह कार्य, अन्तरक्रियात्मक छलफल तथा खेलमूलक गतिविधिहरू सञ्चालन गरिएको थियो। यसले सहभागीहरूमा आत्मविश्वास तथा नेतृत्व क्षमता विकास गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकको भनाइ छ।
साथै, तालिमबाट प्राप्त ज्ञान र सीपलाई स्थानीय तहमा प्रयोग गर्दै सुरक्षित, समावेशी तथा समानतामूलक समाज निर्माणमा योगदान पुग्ने अपेक्षा गरिएको छ। संस्थाले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने तथा युवा क्लबहरूलाई अझ सशक्त बनाउने प्रतिबद्धता जनाएको छ।