कोहलपुर गोल्डकप : कर्णालीलाई टाइब्रेकरमा हराउँदै पुलिस फाइनलमा
कोहलपुर : बाँकेको कोहलपुरमा जारी कोहलपुर गोल्डकपमा नेपाल पुलिस क्लब फाइनलमा पुगेको छ । बिहीबार भएको खेलमा रोयल फुटबल क्लब (कर्णाली) लाई टाइब्रेकरमा ५ ३ गोलले पराजित गर्दै पुलिस फाइनलमा प्रवेश गरेको हो । अब उपाधिका लागि पुलिसले आयोजक रेसिङ साहारा क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
खेलको सुरुवातदेखि नै दुबै टोली आक्रामक शैलीमा उत्रिएका थिए । खेल निर्धारित ९० मिनेटको बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरमा पुगेको थियो। टाइब्रेकरमा पुलिसका कप्तान राम बगाले, सञ्जिव लामा, हेमन्त श्रेष्ठ, सुजन मगर र अनिल टमाटोले गोल गर्दै टिमलाई जित दिलाउनु भएको थियो । रोयलका करण शाही, दिवश विसी र विक्रम अली मात्र गोल गर्न सफल हुनुभयो ।
खेल अवधिभर उत्कृष्ट प्रदर्शन गणेश पुन मगर ‘प्लेयर अफ द म्याच’ हुनुभयो । उहाँले ५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नुभयो । आगामी २६ वैशाखमा आयोजक रेसिङ साहारा क्लब र नेपाल पुलिस क्लबबीच उपाधिका लागी प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले आठ लाख रुपैयाँ र उपविजेताले चार लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।







