स्व. शाहको पुस्तक ६३ वर्षपछि छोराबुहारी र नातिले गरे विमोचन

तुर्माखाँद (अछाम) : अछामका लेखक स्व.पूर्णबहादुर शाहद्वारा लिखित पन्चायन स्तोत्र भजन भक्ति चिरायु माग्ने मागौँ पुस्तक छोरा लोकेन्द्रबहादुर शाह, बुहारी मञ्जुदेवी शाह र नाति नमस्कार शाहलगायतले संयुक्त रुपमा विमोचन गर्नु भएको छ । नेपाल सरकारका पूर्वसचिव कृष्णहरि बास्कोटा, तुर्माखाँद गाउँपालिका अध्यक्ष डम्बर बिसी, उपाध्यक्ष विमला शाही लगायतले पनि मंगलबार अछामको तुर्माखाँद बजारमा पुस्तक विमोचन गर्नु भएको हो ।

जिल्लाको साबिक नाडा गाउँपन्चायतका पूर्वप्रधानपन्च शाहद्वारा लिखित उक्त पुस्तकको उहाँका छोरा बरिष्ठ शिक्षासेवी शाहले ६३ वर्षपछि पुनर्लेखन गरी दोस्रो संस्करण प्रकाशित गर्नु भएको हो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवराज चौधरी, वडा नम्वर २ का वडाध्यक्ष नरेन्द्रबहादुर शाही, वडा नम्वर ३ का वडाध्यक्ष काँशीराम बुढा, वडा नम्वर ६ का वडाध्यक्ष टीकाराम जैशी, वडा नम्वर ७ का वडाध्यक्ष भीमबहादुर चलाउने, कार्यपालिका सदस्य दमनबहादुर घर्ती, बास नेपालका पूर्वअध्यक्ष मन भण्डारी, प्रशासकीय अधिकृत शुद्ध चौधरी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बागेश्वरी धार्मिक तथा पर्यटकीय क्षेत्र विकास समिति नागपर्वत नाडा अछाममा भगवती शाही स्मृति स्तम्भ निर्माण लगायतका कार्यमा सहयोग गरी संस्थागत विकासमा अतुलनीय योगदान गर्ने नेपाल सरकारका पूर्वसचिव, राष्ट्रिय सूचना आयोगका पूर्वप्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटालाई सम्मान पत्रका साथै दोसल्ला ओढाएर सम्मान गरिएको थियो । समितिका अध्यक्ष लोकेन्द्रबहादुर शाह, तुर्माखाँद गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर बिसी, उपाध्यक्ष विमला शाही लगायतले बास्कोटालाई सम्मान गर्नु भएको हो ।
बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले सञ्चालन गरेको कार्यक्रममा बागेश्वरी धार्मिक तथा पर्यटकीय क्षेत्र बिकास समिती नागपर्वत नाडा अछामका अध्यक्ष लोकेन्द्र बहादुर शाह, नेपाल सरकारका पूर्व सचिव कृष्णहरि बास्कोटाले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
पुस्तकमा के छ ?
२०२० सालमा धुर्ढाङ्टा नाडा गाउँ पन्चायतका पूर्वप्रधानपन्च पूर्णबहादुर शाहले २०२० साल माघ १२ गते भारतको मथुरामा प्रकाशन गरेको उक्त पुस्तकलाई उनका माइला छोरा लोकेन्द्रबहादुर शाहले पुर्नलेखन गरि प्रकाशन गरेको उक्त पुस्तक २६ पृष्ठको छ ।
पुस्तकमा पाञ्चायन स्तोत्र, श्री रामसिते स्तोत्र, कैलासपति पार्वति स्तोत्र, महाकाली स्तोत्र, श्री कृष्णराम भजन, श्री इन्द्र स्तुति, श्री बागेश्वरी देवी स्तुति, श्री सूर्यनारायण भगवान् स्तुति, छोरीको चार नलिनु, दुर्वाच्य नबोल्नु, कवि पूर्णका शरीरको र सबैको भजनहरु संग्रहित छन् । संस्कृतमा रहेका उक्त भजन, कविता लेखक पूर्णबहादुर शाहद्वारा लिखित हुन् । पुर्नप्रकाशित उक्त कृतिमा शाहका छोरा लोकेन्द्रबहादुर शाहले स्वर्गिय पूर्णबहादुर शाहको संक्षिप्त जीवनी र भोटेहरुको लडाईं बारे विस्तृत विवरण नेपाली र संस्कृतमा उल्लेख गर्नुभएको छ । पुस्तक इतिहासमा रुचि राख्नेहरुका लागि उपयोगी रहेको छ ।